तत्कालिन सेञ्चुरी बैंकको फाइल फेरी सीआईबीमा, विस्तृत अनुसन्धान गरिँदै

तत्कालिन सेञ्चुरी बैंकको फाइल फेरी सीआईबीमा, विस्तृत अनुसन्धान गरिँदै


काठमाडौं – तत्कालिन सेञ्चुरी बैंक (हाल प्रभुसँग मर्ज)को अनुसन्धानको फाइल केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मै फिर्ता आएको छ । सरकारी वकिलको कार्यालयले थप अनुसन्धानका लागि भन्दै तत्कालिन सेञ्चुरी बैंकको फाईल सीआईबीलाई फिर्ता पठाएको हो ।

सेञ्चुरी बैंक मर्ज भएर प्रभु बैंकमा गाभिइसकेको छ । तत्कालिन सेञ्चुरी बैंकका उच्च ओहोदाका कर्मचारीको मिलेमतोमा कमसल धितोमा अर्बौ रुपैयाँ ऋण प्रवाह भएको पाइएको थियो । कमसल धितोमा नै अर्बौ रुपैयाँ ऋण प्रवाह गरेको खुलेपछि प्रहरीले बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतसहित थप ८ जना कर्मचारीलाई पक्राउ गरेको थियो ।

यस प्रकरणबारे अनुसन्धान सकेर सीआईबीले सरकारी वकिलको कार्यालयमा पेश गरेको थियो । तर, कार्यालयले थप अनुसन्धानका लागि फाईल फिर्ता पठाएको हो । अब सो प्रकरणमा थप अनुसन्धान गर्ने सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले बताए ।

सीआईबीले अनुसन्धानका लागि तत्कालिन अध्यक्ष राजेश श्रेष्ठसहित प्रमुख कार्यकारी मनोज न्यौपाने, सुनिलकुमार न्यौपाने, प्राडा गिता प्रधान लगायतलाई पक्राउ गरेको थियो । यस्तै, रमेशकुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेशकुमार दली, उमाकुमारी श्रेष्ठ, तुलसी गौतम र शिवगोपाल रिसाललाई समेत पक्राउ गरेको थियो ।

बैंकबाट प्रवाहित २ अर्ब ११ करोड ६५ लाख रुपैयाँभन्दा बढी कर्जा वितरण गर्दा कमसल धितो राखेको आरोप उनीहरुमाथि लागेको छ । देउराली सहकारी र रबिन्द्र चौलागाईँका विभिन्न कम्पनीलाई दिइएको कर्जामा कमसल धितो राखेको आरोप उनीहरुमाथि छ ।