‘ग्रीन फाइनान्स’मा लगानी बढाउन बैंकहरुलाई गभर्नरको निर्देशन, भने – बाहानाबाजी चल्दैन

‘ग्रीन फाइनान्स’मा लगानी बढाउन बैंकहरुलाई गभर्नरको निर्देशन, भने – बाहानाबाजी चल्दैन


काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकले ग्लोबल बजारमा आएको ट्रेन्ड अनुसार क्लाइमेन्ट परिवर्तनको गाइडलाइन्स तयार गरेको बताएका छन् । आज आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै गर्भनर अधिकारीले ‘क्लाइमेट फाइनान्सिङ र ‘ग्रीन फाइनान्स’मा लगानी गर्न राष्ट्र बैंकले निर्देशिका नै बनाएको बताएका हुन् ।

‘हामिले क्लाइमेट र समाजसँग सम्बन्धित समस्यालाई सामान्य लिन हुँदैन । यसलाई सामान्यरुपमा लिएमा बैंक नै पनि तलमाथि हुनसक्छ,’ उनले भने, ‘त्यसैले हामिले पहिले नै बुझेर जोखिम न्यूनीकरणकि उपाय खोजेर काम गर्नुपर्छ ।’ उनले विभिन्न बाहाना देखाएर क्लाइमेट फाइनान्स र ग्रीन फाइनान्समा लगानी नरोक्न बैंकहरुलाई निर्देशन समेत दिए ।

केन्द्रीय बैंकले कृषि क्षेत्र र हाइड्रोपावर क्षेत्रमा लगानी गर्न प्रोत्साहन गरेको उल्लेख गर्दै केन्द्रीय बैंकले हाइड्रोपावरमा लगानी बढाउन प्रोत्साहन गरेकाले विद्युतीय सवारीको प्रयोग समेत बढेको बताए ।

‘सबै इन्भेस्टरहरुले ग्रिन फाइनान्समा लगानी गर्नुपर्छ,’ उनले थपे, ‘नेपाल राष्ट्र बैंक सस्टेनेबल फाइनान्समा भिजन नै बनाएर अघि बढ्दै आएको छ ।’ उनले निजि क्षेत्र र बैंकिङ्ग क्षेत्र मिलेर पनि सस्टेनेबल फाइनान्स बढाउन सकिने उल्लेख गरे ।