साउनमा १ अर्ब ८३ करोडको बोनस शेयर नेप्सेमा सूचीकृत

साउनमा १ अर्ब ८३ करोडको बोनस शेयर नेप्सेमा सूचीकृत


काठमाडौं – चालू आर्थिक वर्ष २०८१/८२ मा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १ अर्ब ८३ करोड रुपैयाँको बोनस शेयर सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो महिना (साउन)मा सो मूल्य बराबरको बोनस शेयर सूचीकृत भएको हो ।

यस्तै साउन महिनामा सूचीकृत ८ अर्ब ३४ करोड शेयरको चुक्ता मूल्य ८ खर्ब २६ अर्ब ५२ करोड छ । तथ्यांकअनुसार सूचीकृत कम्पनीमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँजीकरणको हिस्सा ५७.९ प्रतिशत छ ।

यस्तै जलविद्युत कम्पनीको हिस्सा १५.४ प्रतिशत र लगानी कम्पनीको ८ प्रतिशत हिस्सा हुँदा उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.७ प्रतिशत छ । यता होटल समूहको हिस्सा २.९ प्रतिशत र व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत छ ।

केन्द्रीय बैंकको तथ्यांकअनुसार अन्य समूहका कम्पनीहरुको हिस्सा ९.५ प्रतिशत छ । साउन मसान्तसम्ममा सूचीकृत कम्पनीको संख्या २६८ छ भने यीमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको संख्या १३० छ ।

यस्तै जलविद्युत कम्पनीको संख्या ९१ र उत्पादन तथा प्रशोधन उद्योगको संख्या २२ छ । यसैगरी होटलको संख्या ७, लगानी कम्पनी ७, व्यापारिक संस्था ४ र अन्य समूह ७ छन् । गत वर्ष २०८० को साउनमा सूचीकृत कम्पनीको संख्या २५४ थियो । यो एक वर्षमा १४ वटा कम्पनीको संख्या बढेको हो ।