काठमाडाैं – नेपाल राष्ट्र बैंकले बिहीबार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति गरेकाे छ । प्रतिवेदनअनुसार मुलुकको चालु खाता ३० अर्ब ८९ करोड रूपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १३ अर्ब ३७ करोड रूपैयाँले बचतमा थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १० करोड १३ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा २३ करोड ४ लाखले बचतमा रहेको छ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर २२ करोड ३२ लाख रूपैयाँ कायम भएको छ भने प्रत्यक्ष वैदेशिक पुँजी लगानी आप्रवाह ७९ करोड ९८ लाख रूपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर २७ करोड २६ लाख रूपैयाँ कायम भएको थियो भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (इक्विटी मात्र) २ अर्ब ६५ करोड रूपैयाँ रहेको थियो।
समीक्षा अवधिमा शोधनान्तर स्थिति ४० अर्ब ९० करोड रूपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३६ अर्ब ४३ करोड रूपैयाँले बचतमा थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ६३ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३० करोड ५१ लाखले बचतमा रहेको छ।
यस्तै, प्रतिवेदनले मुद्रास्फीति ४ दशमलव १० प्रतिशत रहेकाे देखाएकाे हाे । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.५२ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.१७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९४ प्रतिशत रहेको छ ।
अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ८.९० प्रतिशत र ६.६२ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १९.०७ प्रतिशत, दाल तथा गेडागुडीको १२.०९ प्रतिशत, खाद्य तथा खाद्यजन्यपदार्थको ९.१५ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ३.६६ प्रतिशतले बढेको छ भने मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २.७५ प्रतिशतले घटेको छ ।
प्रदेशगत रुपमा समीक्षा महिनामा कोशी प्रदेशकोे वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.६१ प्रतिशत, मधेश प्रदेशको ४.१७ प्रतिशत, बागमती प्रदेशको ३.४९ प्रतिशत, गण्डकी प्रदेशको ३.९० प्रतिशत, लुम्बिनी प्रदेशको ३.८१ प्रतिशत, कर्णाली प्रदेशको ३.४६ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ६.६९ प्रतिशत रहेको केन्द्रीय बैंककाे तथ्यांकले देखाएकाे छ ।
त्यस्तै, समिक्षा अवधिमा नीजि क्षेत्रमा प्रवाह हुने ०.३ प्रतिशत ले बढेको छ । केन्द्रीय बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ४ अर्ब ३५ करोड (०.१ प्रतिशत) ले घटेको थियो । यता वार्षिक बिन्दुगत आधारमा २०८१ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.२ प्रतिशतले बढेको छ ।
त्यसैगरी, २०८१ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.४ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.० प्रतिशत र ३६.० प्रतिशत रहेको
थियो ।
पूर्णपाठः



About Us
प्रतिक्रिया