एक महिनामा भित्रियो १ खर्ब ३६ अर्ब बढी रेमिट्यान्स, श्रम स्वीकृति लिनेको संख्या घट्दो


काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति
सार्वजनिक गर्दै विप्रेषण आप्रवाह १८.० प्रतिशतले वृद्धि भएको जनाएको हो ।

केन्द्रीय बैंककाअनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८७ करोड ९८ लाख रहेको थियो ।

त्यस्तै, राष्ट्र बैंकले समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३६ हजार ९२८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २२ हजार ६४७ रहेको बताएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३९ हजार १५२ र १६ हजार४२३ रहेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १ खर्ब ४८ अर्ब ४९ करोड पुगेको छ भने अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १२८ अर्ब २१ करोड रहेको थियो ।