उपभोक्ता मूल्य सूचकांक प्रभावकारी बनाउँदै राष्ट्र बैंक, २०८०/८१ आधार वर्ष

उपभोक्ता मूल्य सूचकांक प्रभावकारी बनाउँदै राष्ट्र बैंक, २०८०/८१ आधार वर्ष


काठमाडौं – नेपाल राष्ट्र बैंकले उपभोक्ता मूल्य सूचकांक आधार वर्ष २०८०/८१ लाई बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले उपभोक्ता मुल्य सूचकांक आधार वर्ष २०८०/८१ र ब्यालेन्स अफ पेमेन्ट तथ्यांक सार्वजनिक सम्बन्धमा छलफल तथा पत्रकार सम्मेलन गरेर सो जानकारी गराएको हो ।

नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका उपनिर्देशक सुमन न्याैपानेले नेपाल राष्ट्र बैंकले सबै जिल्लाबाट मूल्य संकलन गरेर सूचकांक तयार गरेको जानकारी दिएका छन् । उनले नयाँ वस्तु तथा सेवाहरु पनि समावेश गर्नुपर्ने भएकाले आधार वर्ष तय गरिएको जानकारी दिए। उनले ८७ वटा बजारबाट ५०० बढी वस्तुहरुबाट तथ्यांक तयार गर्ने गरेको बताए । उनले यो सँगै केन्द्रीय बैंकले अल्कोहललाई खाद्य ग्रुपबाट बाहिर राखेको जानकारी दिएका छन् ।

त्यस्तै, सोहि कार्यक्रममा बोल्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तथ्याङ्क कार्यालयले गरेको सर्वेक्षणको सर्वेलाई नै आधारशिला बनाएर ८०/८१ लाई आधार वर्षको रूपमा तय गरेर राष्ट्र बैंक अगाडि बढिरहेको बताएका छन् । उनले मासिक मूल्य सूचकाङ्क सार्वजनिक गर्न ढिलो भएकाे भन्दै ढिलो गर्दा विश्वसनीय डाटा आउने बताए ।

उनले भने,‘धेरैले प्रश्न गरिरहनु भएको थियो । किन एक महिना मूल्य सूचकाङ्क सार्वजनिक गर्न ढिलो गर्नुभयो भनेर । एक महिना ढिलो नगरी हाम्रो तथ्याङ्क नै आउँदैन । रफ तथ्याङ्क हामीले सार्वजनिक गर्न थाल्यौँ भने त त्यसमा विश्वसनीयता हुँदैन । त्यसैले अलिकति ढिलो गरेर भएपनि सही तथ्याङ्क नै ल्याउनुपर्छ ।’