बैंकर अनिल शाहको प्रश्नः राहत हामीले मात्रै दिने हो कि व्यवसायीले पनि दिनुपर्छ ? 

बैंकर अनिल शाहको प्रश्नः राहत हामीले मात्रै दिने हो कि व्यवसायीले पनि दिनुपर्छ ? 


बैकिङ्ग समाचार । 
नेपाल बैंकर्स संघका पूर्वअध्यक्षसमेत रहेका नविल बैंकका सीइओ अनिल शाहले उद्योगी–व्यवसायीहरुले पनि उपभोक्तालाई राहत दिनुपर्ने बताएका छन् ।

उद्योगी तथा व्यवसायीहरुले सरकार र राष्ट्र बैंकले दिएको राहतले नपुगेको भन्दै गुनासो गरिरहेका बेला शाहले यस्तो बताए । 

मंगलबारको संघीय संसदको अर्थसमितिको बैठकमा शाहले प्रश्न गरे, ‘हामीले हाम्रा ग्राहक अर्थात् ऋणीलाई मात्रै राहत दिने हो कि व्यवसायीहरुले पनि उपभोक्तालाई दिनुपर्छ ?’

आफूहरुले अर्थमन्त्रालय, राष्ट्र बैंक, अर्थ समितिले भने पनि र नभने पनि राहत दिने बताउँदै उनले थपे, ‘तर उहाँहरुले उहाँहरुको ग्राहकलाई दिनुपर्दैन ?’

बैंकहरुले दिने राहत त १४ लाख ऋणीका लागि मात्रै भएको उनको भनाइ छ । जसले दैनिक उपभोग्य वस्तु दाल, चामल, सिमेन्ट, छड किन्छ उसले किन राहत नपाउने भन्दै शाहले बैठककाबीचमा प्रश्न गरे । बैंकिङ क्षेत्रले १४ लाखलाई दिने राहत ३ करोड नेपालीकोमा पुग्नुपर्ने उनको धारणा छ । वित्तीय क्षेत्रबाट राहत पाउनेले दिने राहतको विषयमा आफुले कुनै कुरा नसुनेको भन्दै राहत पाउनेले पनि सर्बसाधारण नेपाली जनतालाई राहत दिने बाताबरण बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

बैठकमा शाहले सबै बैंकहरुले ऋणीलाई रातो, पहेँलो र हरियोमा वर्गिकरण गरेको जानकारी गराए ।

‘कोरोनाका कारण असर परेको पर्यटन लगायतका क्षेत्रलाई रातो, अहिले बन्द भएको र लकडाउन खुलेपछि खुल्ने र रातह पाएपछि चल्ने सक्ने उद्योगलाई हरियो तथा कुनै पनि प्रभाव नपरेको क्षेत्रलाई ग्रिनमा राखेका छौं,’ उनले भने ।

राहत सबैलाई समानरुपमा गएको भन्दै सबैलाई समानरुपमा राहत वितरण गर्न नहुने उनको भनाइ छ । सरकारले सबै नेपालीलाई समस्या भएको भन्दै सबैलाई मानौं ५ हजारकोरुपमा दिए पनि आवश्यक नभएकाले पनि ५ हजार पाउने र आवश्यक परेकालाई त्यो रकमले नपुग्ने सम्भावना रहेको शाहको तर्क छ ।

सरकारले ठूला उद्योगभन्दा साना उद्योगीलाई राहतमा ध्यान दिन आवश्यक पर्ने सुझव पेस गर्दै उनले भने ‘रातोमा परेकोमा पनि उठ्नै नसक्ने भएको छ भने बालुवामा पानी हालेर केही हुँदैन, त्यस्तोलाई राहतबाट हटाउँदा नै उपयुक्त हुन्छ,’ उनले भने ।

कतिपय ऋणीको खातामा पैसा हुँदाहुँदै पनि तिर्ने बेलामा १० प्रतिशत राहत मागेको भन्दै शाहले आश्चर्य प्रकट गरे ।

बैंकहरुमा करोडौंको जनताको निक्षेप हुने र लाखौंले मात्रै ऋण लिने गरेको तथ्य प्रस्तुत गर्दै राहत दिँदा लाखौंलाई ध्यान दिएको तर करोडौंलाई विर्सिएको दाबी गरे ।

‘हामीले निक्षेपमा आएको पैसा होल्ड गरेर राखेका छैनौं, लगानी गरेका छौं । निजी क्षेत्रले हामीले डुब्यौं भन्दैगर्दा लकडाउन खुलेपछि निक्षेपकर्ता लाइन लागेर धमाधम निक्षेप निकाल्न लाग्नुभयो भने त्यो दिन के होला ?’ शाहले प्रश्न गरे ।

कोरोनापछि वित्तीय क्षेत्रमा कस्तो असर हुने हो ? आफ्नो निक्षेप के हुने हो ? लगायतका तमाम प्रश्नकामाझ आम निक्षेपकर्ताहरुले फोन गर्न थालेको पनि उनले सुनाए ।

अहिले नेपालमा उत्पादन भएको बस्नु आयात गरिएकोभन्दा महंगो परेको भन्दै कृषकलाई मल बीऊमा योजनाबद्ध काम गर्न आवश्यक रहेको बताए । कृषकलाई अनुदान भन्दा पनि सहजै मल बीऊमा व्यवस्था गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

यस्तै उनले बैंकिङ क्षेत्रमा आउने कुनै पनि व्यक्ति आफ्नो बुबाको बैंक भएर नआएको तर उद्योग व्यवसायको क्षेत्रमा आउने व्यक्ति एकघरमा परिवारको सदस्यको सहयोगमा उद्योगी व्यवसायी बनेको बताए ।