सिटिजन्स बैंकको बोनस शेयर घोषणा

सिटिजन्स बैंकको बोनस शेयर घोषणा


काठमाडौं – सिटिजन्स बैंक इन्टरनेशनलले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ ।  बैंक सञ्चालक समितिको आज (असोज ७) गते दिउँसो ३ बजे बसेको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । योसँगै सिटिजन्स बैंक लाभांश घोषणा गर्ने दोस्रो वाणिज्य बैंक बनेको छ।

यसअघि वाणिज्य बैंक मध्येकै एभरेष्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट दिने लाभांश दिने घोषणा गरिसकेको छ । समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट २०८१ असार मसान्तको चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँको कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।

जसमा ४ प्रतिशतले हुन आउने ५६ करोड ८० लाख ३८ हजार ९६०.२३ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२१ प्रतिशतले हुन आउने २ करोड ९८ लाख ९६ हजार ७८७.३८ रुपैयाँ बराबरको नगद लाभांश छन्।

गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार सिटिजन्स बैंकको लाभांश क्षमता ४.३४ प्रतिशत थियो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गर्ने बैंक सञ्चालक समितिले निर्णय गरेको छ।