शेयर बजार निरन्तर घट्न थालेपछि नेप्सेको कार्यलय पुगे अर्थमन्त्री

शेयर बजार निरन्तर घट्न थालेपछि नेप्सेको कार्यलय पुगे अर्थमन्त्री


काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेल नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को कार्यालय पुगेका छन् । शेयर बजार निरन्तर घट्न थालेपछि नेप्सेबारे ब्रिफिङ लिनका लागि अर्थमन्त्री पौडेल पुगेका हुन् ।

नेपाली कांग्रेस र एमाले नेतृत्वको सरकार बनेपछि शेयर बजार बढ्न थालेको थियो । लगानीकर्ताको चाहनाअनुसार अर्थमन्त्रालयमा पौडेल आएपछि २ हजार अंकको परिसूचक ३ हजार अंकको बिन्दुमा पुगेको थियो ।

तर, पछिल्लो समय बजार निरन्तर घट्न थालेको छ । लगानीकर्ताको इच्छाबमोजिमको सरकार आएपनि र बजार मैत्री अर्थमन्त्री आएपनि परिसूचक निरन्तर नबढ्नेबारे सबैले जानकारी पाइसकेका छन् ।

३ हजार अंकको बिन्दुमा पुगेको परिसूचक यतिबेला २५ सय अंकको बिन्दुमा आइपुगेको छ । नेप्सेको वर्तमान स्थिती, शेयर बजारको पछिल्लो जानकारी लगायतका विषयमा छलफल गर्न अर्थमन्त्री पुगेका हुन् ।

परिसूचक घट्न थालेपछि लगानीकर्ताकाे मनाेबल समेत घट्दाे अवस्थामा छ । ३० अर्ब रूपैयाँसम्म पुगेकाे काराेबार रकम घटेर यतिबेला ५ अर्ब रूपैयाँमा खुम्चिएकाे छ ।