वाणिज्य बैंकहरुले एक महिनामै कमाए ९ अर्ब बढी नाफा, कुनको कति ?

वाणिज्य बैंकहरुले एक महिनामै कमाए ९ अर्ब बढी नाफा, कुनको कति ?


काठमाडौं – हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८१।८२ को पहिलो महिना साउनमा मात्रै ९ अर्ब १७ करोड रुपैयाँ बढी नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार बैंकहरुले कुल ९ अर्ब १७ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन्।

केन्द्रीय बैंककाअनुसार एक महिनाको अवधिमा सबैभन्दा धेरै नाफा कमाउने बैंकका ग्लोबल आईएमई बैंक रहेको छ । सो बैंकले एक महिनामै ८९ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। त्यस्तै धेरै नाफा कमाउनेको दोस्रो स्थानमा नबिल बैंक रहेको छ। सो बैंकले साउनमा ८० करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ । साथै सर्वाधिक नाफा कमाउनको तेस्रो स्थानमा सरकारको स्वामित्वमा रहेको कृषि विकास बैंक रहेको छ। सो बैंकले ७१ करोड २० लाख रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै, धेरै नाफा कमाउनेको चौथो नम्बरमा हिमालयन बैंक रहेको छ। उक्त बैंकले साउनमा ५८ करोड ८० लाख रुपैयाँ नाफा कमाएको छ । साथै धेरै नाफा कमाउने बैंकको सूचीमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक पाँचौँ स्थानमा रहेको छ। सो बैंकले ५७ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

त्यस्तै, साउनमा प्रभु बैंकले ५३ करोड ८० लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकले ५० करोड ५५ लाख रुपैयाँ, कुमारी बैंकले ५० करोड ३५ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ४३ करोड ३२ लाख रुपैयाँ, एनएमबि बैंकले ४२ करोड ७२ लाख रुपैयाँ र एभरेष्ट बैंकले ४२ करोड २९ लाख रुपैयाँ नाफा कमाएका छन् ।

साथै, सानिमा बैंकले ३८ करोड २६ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ३६ करोड ६ लाख रुपैयाँ, सिद्धार्थ बैंकले ३४ करोड ८८ लाख रुपैयाँ, सिटिजन्स बैंकले ३४ करोड २२ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकले ३३ करोड ३४ लाख रुपैयाँ र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३१ करोड १५ लाख रुपैयाँ नाफा आम्दानी गरेका हुन् । साथै, एनआईसी एशिया बैंकले २६ करोड ६३ लाख रुपैयाँ नाफा एक महिनामा आर्जन गरेको छ ।

यस्तै, एक महिनामा सबैभन्दा कम नाफा आर्जन गर्नेमा माछापुच्छ्रे बैंक रहेको छ । माछापुच्छ्रे बैंकले २० करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । त्यस्तै सो समयमा कम नाफा आर्जन गर्नेको दोस्रो स्थानमा नेपाल बैंक रहेको छ । सो बैंकले एक महिनामा २२ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको छ ।