काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५७ अंक घटेर २५ सय अंकको बिन्दुमा आइपुगेको छ । निरन्तर बढेर ३ हजार अंकसम्म पुगेको नेप्से परिसूचक घटेर २५ सय ८० अंकको बिन्दुमा आइपुगेको हो ।
आज २.१६ प्रतिशतले घटेसँगै परिसूचक बढ्न थालेपछि पहिलोपटक २६ सय अंकभन्दा तल आइपुगेको छ । यसक्रममा आज ७ अर्ब ३६ करोड १९ लाख रुपैयाँ बराबरको १ करोड ७० लाख ६१ हजार कित्ता शेयर किनबेच भएको छ । आज १४ वटा कम्पनीको शेयर मूल्य बढ्दा २२७ वटा कम्पनीको घटेको छ । ३ वटाको स्थिर कायम छ ।
बजार उच्च अंकले घटेपनि आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै, हिमालयन हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ भने जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।
यस्तै, आज गुडविल फाइनान्स र थ्रीस्टार हाइड्रोपावरको शेयर मूल्य ९ प्रतिशतले घटेको छ । यस्तै, सीईडीबी हाइड्रोपावर डेभलपमेन्टको शेयर सबैभन्दा बढी कारोबार भएको छ । यो कम्पनीको आज ३१ करोड ११ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यसपछि सानिमा लाईफ इन्स्योरेन्सको शेयर २७ करोड ४२ लाख रुपैयाँको कारोबार भएको छ ।
आज कुनैपनि समूहको सूचक बढेको छैन । १३ मध्ये १३ वटै समूहमा गिरावट आएको दिन सबैभन्दा धेरै निर्जीवन बीमा कम्पनी समूहको सूचक २५२ अंकले घटेको छ । यस्तै जीवन बीमा समूहको २४४ अंकले घटेको छ । यसैगरी वित्त समूहमा १८६ अंकको र होटल तथा टुरिजम समूह १८३ अंकले घटेको छ ।
प्रतिक्रिया