पहिलो पटक बैंक खाता रोक्का तथा फुकुवाका लागि स्वचालित प्रणाली विकास गर्दै केन्द्रीय बैंक


काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी नियमावली– २०८१, जारी गरेको छ । यो प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाउन राष्ट्र बैंकले उक्त विनियमावली जारी गरेको हो । यो विनियमावली मिति ०८१ असोज १ देखि लागू हुनेछ । बैंक खाता रोक्का र फुकुवासम्बन्धी व्यवस्था नयाँ नभए पनि यसरी छुट्टै विनियमावली जारी भएको थिएन ।

बैंक खाता रोक्का राख्न तथा रोक्का रहेका बैंक खाता फुकुवा गर्ने सम्बन्धी व्यवस्थालाई थप स्पष्ट, पारदर्शी र व्यवस्थित बनाउन वाञ्छनीय भएकाले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा ११० को व्यवस्थाबमोजिम विनियमावली जारी गरेको राष्ट्र बैंकले जनाएको छ ।

प्रचलित कानुनको अधीनमा रही कुनै इजाजतपत्र प्राप्त संस्थामा रहेको खाता रोक्का गर्नको लागि अधिकारप्राप्त अधिकारीले सो कानुनको व्यवस्था स्पष्ट उल्लेख गरी देहायबमोजिमको व्यहोरा खुलाई राष्ट्र बैंकसमक्ष लिखित रूपमा अनुरोध गरेमा राष्ट्र बैंकले इजाजतपत्र प्राप्त संस्थालाई अविलम्ब खाता रोक्का गर्न निर्देशन दिनेछ,’ विनियमावलीमा उल्लेख गरिएकाे छ, ‘ प्राकृतिक व्यक्ति भएमा खाता रोक्का गर्नुको स्पष्ट कारण, खातावालाको नागरिकता, पासपोर्ट, राष्ट्रिय परिचयपत्र, वा अन्य यस्तै प्रकारको नेपाल सरकारले जारी गरेको निजको स्पष्ट परिचय खुल्ने आधिकारिक विवरण तथा निजको तीन पुस्ते विवरण आवश्यक पर्छ,’ विनियमावलीमा भनिएकाे छ, ‘कानुनी व्यक्ति भएमा खाता रोक्का गर्नुको स्पष्ट कारण, फर्म, कम्पनी तथा संस्थाको खाता रोक्का गर्नुपर्दा खातावालाको आधिकारिक नाम, ठेगाना, दर्ता नम्बर र स्थायी लेखा नम्बर, कुनै निश्चित खातामात्र रोक्का राख्नुपर्ने अवस्थामा रोक्का राख्नुपर्ने खाताको खाता नम्बर र खाता रहेको बैंकको विवरण र आंशिक खाता रोक्का राख्नुपर्ने भएमा रोक्का राख्नुपर्ने खाताको खाता नम्बर, रोक्का राख्नुपर्ने रकम (अक्षर र अंकमा) र खाता रहेको बैंकको विवरण आवश्यक छ ।’

खाता रोक्का वा फुकुवा गर्ने अधिकार

खाता रोक्का वा फुकुवा गर्ने अधिकार राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागलाई हुनेछ र विभागका कार्यकारी निर्देशकले तोकेको अधिकारप्राप्त अधिकृतस्तरका कर्मचारीले सोसम्बन्धी निर्देशन दिन सक्नेछन्।

यस्ता खाता रोक्कासम्बन्धी विशेष व्यवस्था:

१. इजाजतपत्रप्राप्त संस्थाहरुको खाता रोक्का हुने छैन।

२. भुक्तानी सेवा प्रदायक संस्थाको सेटलमेन्ट प्रयोजनका लागि इजाजतपत्रप्राप्त संस्थाहरुमा रहेको खाता रोक्का हुने छैन। तर, अल्पकालीन वा दीर्घकालीन रुपमा संस्था सञ्चालनमा नरही बन्द हुने अवस्था आएमा वा राष्ट्र बैंकले कारबाही गरी खाता रोक्का गर्नुपर्ने अवस्था देखिएमा संस्थाको खाता रोक्का गर्न बाधा पुगेको मानिने छैन।

३. कुनै कर्मचारीसँग सम्बन्धित विषयका कारण सम्बन्धित संस्थाको सम्पूर्ण खाता रोक्का गर्ने गरी अनुरोध गर्नुपर्ने भएमा खाता रोक्का गर्नुअघि निश्चित वा आंशिक खाता रोक्का गर्न मिल्ने वा नमिल्ने यकिन गरी सम्पूर्ण खाता रोक्का गर्दा संस्थाको व्यवसायिक निरन्तरतामा पर्ने प्रभाव, अन्य कर्मचारी तथा सरोकारवालालाई पर्ने प्रभाव र सम्बन्धित संस्थाको उक्त कर्मचारी प्रतिको दायित्व रकम समेत खुलाइ विवरण पेश गर्नु पर्नेछ। उक्त अनुरोधका सम्बन्धमा राष्ट्र बैंकले निश्चित वा आंशिक खाता रोक्का राख्न उपयुक्त देखेमा कर्मचारी प्रतिको दायित्व बराबरको रकम रोक्का राख्ने गरी जाजतपत्रप्राप्त संस्थाहरुलाई निश्चित वा आंशिक खाता रोक्का राख्न निर्देशन दिन सक्ने व्यवस्था प्रस्तावित विनियमावलीमा गरिएको छ।