साताको शेयर बजार – परिसूचक ३८ अंकले घट्यो, ४० अर्बको कारोबार

साताको शेयर बजार – परिसूचक ३८ अंकले घट्यो, ४० अर्बको कारोबार


काठमाडौं – यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८.८३ अंकले घटेको छ । साताका ५ दिन कारोबार भएको नेप्से परिसूचक त्यसमध्ये ४ दिन घट्यो । फलस्वरुप परिसूचक समग्रमा ३८ अंकले घटेर बन्द भएको हो ।

गत साताको बिहीबार नेप्से परिसूचक २७ सय २७ अंकमा बन्द भएको थियो । जुन, यो साताको ५ दिनमध्ये ४ दिन घटेको हो । यो साताको आइतबार परिसूचक २५.४६ अंकले घटेर २७०१ अंकमा आइपुगेको थियो । यस्तै सोमबार ५५.८६ अंकले घटेर परिसूचक २६ सय ४६ अंकमा आइपुगेको थियो ।

यसैगरी मंगलबार १३.०९ अंक घटेर २६ सय ३२ अंकको बिन्दुमा आइपुगेको परिसूचक बुधबार फेरी २२.७३ अंकले घट्यो । यससँगै २६ सय १० अंकको बिन्दुमा आइपुगेको नेप्से परिसूचक बिहीबार भने उच्च अंकले बढ्यो । बिहीबार ७८.३१ अंकले बढेको परिसूचक २६ य ८८.५३ अंकमा पुगेर रोकिएको छ ।

यसअघि २ हजार अंकको बिन्दुमा रहेको नेप्से परिसूचक बढेर ३ हजार अंकसम्म पुगेको थियो । त्यसयता ४ सय अंक हाराहारीले घटेर २६ सय १० अंकमा आइपुगेको थियो । यसक्रममा कारोबार रकम समेत घटेको छ । दैनिक ३० अर्ब रुपैयाँसम्मको कारोबार हुन थालेको बजारमा यतिबेला ६–७ अर्बमा झरेको छ ।

यो साता कारोबार रकम पनि घटेको छ । गत साताको ५ दिनमा ५० अर्ब रुपैयाँ बराबरको कारोबार भएको नेप्सेमा यो साता ४० अर्ब रुपैयाँमा कारोबार रकम सिमित बनेको छ । परिसूचक घट्न थालेपछि लगानीकर्ताले लगानी गर्न डराउँदा कारोबार रकम खुम्चिएको हो ।