१३ प्रतिशत ‘करेक्सन’पछि उकालो लाग्यो शेयर बजार, ७८ अंकले बढ्यो

१३ प्रतिशत ‘करेक्सन’पछि उकालो लाग्यो शेयर बजार, ७८ अंकले बढ्यो


काठमाडौं – ३ हजार अंककाे बिन्दुमा पुगेर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ प्रतिशतले खुम्चेपछि बढ्न थालेको छ । परिसूचक ३ हजार अंकको बिन्दुमा पुगेपछि १३ प्रतिशतसम्म घटेर २६ सय १० अंकसम्म आइपुगेको थियो । तर, आज साताको अन्तिम कारोबार दिन भने बजार पुनः उकालो लागेको हो ।

यससँगै नेप्से परिसूचक ७८.१७ अंकले बढेर २६ सय ८८ अंकमा पुगेको छ । यो २.९९ प्रतिशतको वृद्धि हो । यसक्रममा १८० वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ५७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ कम्पनीको मूल्य स्थिर कायम छ ।

आज परिसूचक बढेको दिन कारोबार रकम पनि बढेको छ । हिजो ६ अर्ब रुपैयाँमा सिमित काराेबार रकम आज ७ अर्ब १८ करोड रुपैयाँमा पुगेको छ । यस्तै १ करोड ७२ लाख कित्ता शेयर किनबेच भएको छ ।

परिसूचक उत्साहजनकरुपमा बढेपछि ४ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशत बढेको छ । यस्तै अन्य ६ कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । यस्तै आज थ्रीस्टार हाइड्रोको शेयर मूल्य भने १० प्रतिशतले घटेको छ ।

परिसूचक ७८ अंकले बढ्दा म्यूचुअल फण्ड समूह ०.०१ अंकले घटेको छ । यो बाहेक अन्य कुनै पनि समूहमा आज गिरावट आएको छैन । सबैभन्दा धेरै जीवन बीमा कम्पनी समूह ४४१ अंकले बढेको छ भने निर्जीवन बीमा कम्पनी समूह २५६ अंकले बढेको छ ।