काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज पनि उच्च अंकको गिरावट आएको छ । कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचक बन्द हुँदासम्ममा ५५.८६ अंकले घटेर बन्द भएको हो ।
पछिल्लो समय नेप्से परिसूचकमा निरन्तर गिरावट आइरहेको छ । ३ हजार अंकको बिन्दुमा पुगेपछि निरन्तर घट्न थालेको हो । यससँगै आज परिसूचक २६ सय ४६ अंकमा आएर रोकिएको छ । यसक्रममा ९ अर्ब ४३ करोड ९१ लाख रुपैयाँको कारोबार भएको छ ।
यो हिजो आइतबारको तुलनामा न्यून हो । आइतबार नेप्सेमा १० अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । यस्तै, परिसूचक २५ अंकले घटेको थियो । परिसूचक घट्दै जान थालेपछि कारोबार रकममा समेत गिरावट आएको छ । यसअघि दैनिक ३० अर्ब रुपैयाँसम्मको कारोबार हुन थालेको थियो ।
परिसूचक उच्च अंकले घट्दा २२ वटा कम्पनीको शेयर मूल्य बढेको छ । यस्तै २२२ वटा कम्पनीको मूल्य घटेको छ । यसक्रममा आज २ करोड १० लाख ४८ हजार कित्ता शेयर किनबेच भएको छ । हाथवे इन्भेष्टमेन्ट नेपालको शेयर मूल्य सबैभन्दा धेरै ८.९८ प्रतिशतले बढेको छ ।
यसक्रममा आज सबै समूह राताम्य बनेका छन् । सबैभन्दा धेरै जीवन र निर्जीवन बीमा कम्पनी समूह समान ३३३ अंकले घटेका छन् । यस्तै होटल र टुरिजम समूहमा १८४ अंकको गिरावट आएको छ । विकास बैंक समूह १०१ अंकले घटेको छ ।
प्रतिक्रिया