‘चेक बाउन्स’: दोषीलाई एक महिनादेखि २ वर्षसम्म कैद


काठमाडौं – चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय हुने गरी कानुनी व्यवस्था गरिएको छ। संघीय संसदको अर्थ समितिले बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि दफावार छलफलका क्रममा चेक अनादरको विषयमा सहमति जुटाएको हो।

जसअनुसार पाँच प्रतिशत जरिवाना र कैद सजायको हुने गरी व्यवस्था गरिएको छ । भुक्तानी दिनुपर्ने रकम भुक्तानी नदिएको वा चेक भुक्तानी दिन इन्कार गरेको अवस्थामा चेक अनादर हुने हुन्छ।

यस्तै, चेक प्रदान गर्ने खातावालाको खातामा पर्याप्त रकम नभएको कारण बैंकबाट चेक धारकले रकम भुक्तानी पाउनबाट वञ्चित भएको अवस्थामा समेत चेक अनादर हुने गर्छ।

रकम अनुसार बढी सजाय हुने व्यवस्था गरिएको छ। जसअन्तर्गत एक करोडभन्दा धेरै रकमको चेक अनादर भएमा दुई वर्षसम्म कैद सजाय हुने व्यवस्था गरिएको छ।

त्यस्तै, एक करोडसम्मको चेकमा एक वर्षसम्म, ६० लाखसम्मको तीन महिनासम्म र १५ लाखसम्मको चेकमा एक महिनासम्मको कैद सजाय हुने गरी व्यवस्था गरिएको छ।