बैंकिङ्ग प्रणालीमा पैसा थुप्रिएपछि एक सय अर्ब तान्दै केन्द्रीय बैंक

बैंकिङ्ग प्रणालीमा पैसा थुप्रिएपछि एक सय अर्ब तान्दै केन्द्रीय बैंक


काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले एक सय अर्ब तरलता खिच्ने भएको छ । केन्द्रीय बैंकले आज (भदौं २३ गते) २१ दिन अवधिको एक सय अर्ब रूपैयाँ निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्न लागेको हो । यसका लागि बैंकले आज ३ बजे बोलकबोल गर्नेछ ।

यो २१ दिने निक्षेप संकलन उपकरणको असाेज १३ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गरिएको छ।

उक्त निक्षेप संकलन उपकरणमा लगानी गर्ने बैंकले त्यसलाई राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सक्नेछन् ।