साताको शेयर – परिसूचक २२ अंक घट्यो, कारोबार रकममा उल्लेख्य गिरावट

साताको शेयर – परिसूचक २२ अंक घट्यो, कारोबार रकममा उल्लेख्य गिरावट


काठमाडौं – यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २२ अंकको गिरावट आएको छ । गत साताको बिहीबारको तुलनामा यो साताको बिहीबारसम्मको अवधिमा २२ अंकले परिसूचक घटेको हो ।

गत साताको बिहीबार नेप्से परिसूचक २७ सय ४९ अंकमा थियो । जुन यो साताको विहीबारसम्म आइपुग्दा २२ अंकले घटेर २७ सय २७ अंकमा आइपुगेको हो ।

सातामा ५ दिन कारोबार भएको नेप्सेमा ३ दिन गिरावट तथा २ दिन वृद्धि देखिएको थियो । पहिलो कारोबार दिन ५३ अंकले परिसूचक घटेर २६ सय ९५ अंकमा आइपुगेको थियो । सोमबार एकै दिन १२७ अंकले बढेको थियो ।

एकै दिन १२७ अंकको वृद्धि देखिएपछि परिसूचक २८ सय २३ अंकमा पुगेको थियो । सोमबारको वृद्धि निरन्तर रहँदै मंगलबार पनि बजार ६ अंकले बढ्यो ।

तर, बुधबार फेरी बजार ९० अंकले घट्यो र बिहीबार पनि १२ अंकले घट्यो । यससँगै यो साता नेप्से परिसूचक २७ सय २७ अंकमा आएर रोकिएको हो ।

यो साता कारोबार रकममा समेत उल्लेख्य गिरावट आएको छ । परिसूचक निरन्तर बढेर ३ हजार अंकको बिन्दुमा पुग्दा ३० अर्ब रुपैयाँ हाराहारीको कारोबार भएको थियो । तर, घट्न थालेसँगै फेरी कारोबार रकम घट्न थालेको छ ।

यो साताको अन्तिम कारोबार दिन परिसूचक १२ अंकले घट्दा ९ अर्ब ६५ करोड रुपैयाँको मात्रै कारोबार भयो । त्यसअघि बुधबार १२ अर्ब ९२ करोड, मंगलबार १३ अर्ब ५७ करोड, सोमबार १३ अर्ब १० करोड रुपैयाँको कारोबार भएको थियो ।

यसैगरी, आइतबार १० अर्ब ५१ करोड रुपैयाँको कारोबार भएको थियो । यो साताभरमा नेप्सेमा कूल ५९ अर्ब ७५ करोड रुपैयाँको कारोबार भएको छ । गत साता ६४ अर्ब ३४ करोड रुपैयाँको कारोबार भएको थियो । जबकी गत साता नेप्सेमा ४ दिन मात्रै कारोबार भएको थियो ।