नेपाललाई ५१ मिलियन युरो अनुदान दिन जर्मन सहमत, २०३० पछि पनि सहयोग जारी राख्ने

नेपाललाई ५१ मिलियन युरो अनुदान दिन जर्मन सहमत, २०३० पछि पनि सहयोग जारी राख्ने


काठमाडौं – नेपाल सरकार र जर्मन सरकारकारबीच विकास सहायता सम्बन्धी द्विपक्षीय वार्ता जर्मनीको राजधानी बर्लिनमा सम्पन्न भएको छ । वार्तामा जर्मन सरकारकातर्फबाट आगामी दुई वर्षका लागि वित्तीय र प्राविधिक सहायता गरी ५१ मिलियन यूरो अनुदान सहायता परिचालन गर्ने सहमति भएको छ ।

सो सहायता रकम नेपालमा गुणस्तरीय स्वास्थ्य क्षेत्र पूर्वाधार एवं स्वास्थ्य सेवाको पहुँचलाई सर्वसुलभ बनाउने, हरित एवं नविकरणीय ऊर्जाको विकास तथा प्रवर्द्धनमा खर्च गर्नुपर्ने छ । यस्तै, तहगत सरकारका विभिन्न निकायहरूको संस्थागत सुदृढीकरण गर्ने, आर्थिक सामाजिक विकास लगायतको क्षेत्रमा परिचालन गर्ने सहमति समेत भएको हो ।

वार्ताका क्रममा नेपाली पक्षले सन् २०३० भित्र नेपालको दिगो विकास लक्ष्य हासिल गर्न र अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्ती भएपछि पनि सहयोग जारी राख्नुपर्ने विषय राख्यो । नेपालको विकास अभियानलाई निरन्तरता दिन विकास साझेदारको भूमिका महत्वपूर्ण हुने भएकोले जर्मन सरकारकोतर्फबाट प्राप्त हुने सहयोगलाई २०३० पछि पनि निरन्तरता दिन र थप सुदृढ बनाउन आग्रह गरेको हो ।

सो क्रममा जर्मन सरकारले आगामी दिनमा नेपालको विकास प्रयासमा सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ । यस्तै जलवायु परिवर्तन, लैङ्गिक समता, वातावरणीय दिगोपना, गरिबी न्यूनीकरण लगायतका विविध विषयमा आगामी दिनमा सहकार्य गर्ने विषयमा समेत छलफल भएको छ ।

नेपाली प्रतिनिधिमण्डको तर्फबाट वार्ताको नेतृत्व अर्थमन्त्रालयका सहसचिव धनिराम शर्माले गर्नु भएको थियो । यस्तै जर्मन सरकारकोतर्फबाट आर्थिक सहायता तथा विकास सम्बन्धी सङ्घीय मन्त्रालयको संसदीय राज्य सचिव वार्वेल कोफ्लरले गरेका थिए ।