कोरोना कहरः विश्वभर पर्यटन क्षेत्रले १२ खर्ब डलर गुमाउने संकेत,१२ करोड कामदारको रोजगारी जोखिममा

कोरोना कहरः विश्वभर पर्यटन क्षेत्रले १२ खर्ब डलर गुमाउने संकेत,१२ करोड कामदारको रोजगारी जोखिममा


एजेन्सी, 
कोरोना महामारीबाट धेरै प्रभावित भएको पर्यटन क्षेत्रले तथ्यांक राख्न थालिए यताकै धेरै क्षति बेहोर्ने भएको छ। पर्यटकको संख्यासँगै आम्दानीमा ह्रास हालसम्मकै उच्च हुने एक अध्ययनले देखाएको छ।

सयुक्त राष्ट्र संघीय विशिष्टिकृत एजेन्सी वर्ल्ड टुरिज्म अर्गनाइजेशन(युएनडब्लुटीओ)ले गरेको अध्ययनअनुसार सन् २०२० मा विश्वभर पर्यटन क्षेत्रले १ हजार २ सय अर्ब अमेरिकी डलरसम्म आम्दानी गुमाउने छ। यो अघिल्लो वर्षको कूल आम्दानीको झन्डै आधा हो। अघिल्लो वर्ष संसारभर पर्यटन क्षेत्रले २ हजार ९ सय अर्ब डलर आम्दानी गरेको थियो।

उक्त अध्ययनले सन् २०१९ को तुलनामा कम्तिमा पनि ८५ करोड पर्यटक घट्ने अनुमान गरेको छ। यो संख्या १ अर्ब १० करोडसम्म पुग्नसक्ने छ।

पर्यटन क्षेत्रका होटल,एयरलाइन्स तथा ट्राभल एजेन्ट जस्ता व्यवसाय धरासायी हुनसक्ने र यसबाट १२ करोड बढी प्रत्यक्ष रोजगारी जोखिममा पर्ने युएनडब्लुटीओले चेतावनी दिएको छ।

युएनडब्लुटीओले यो वर्षको सम्भावित क्षतिलाई तीन तरीकाले अनुमान गरेको छ। महामारीका कारण संसारभरका सबै पर्यटकीय गन्तवय बन्द भएको अहिलेको अवस्था कहिलेसम्म लम्बिन्छ भनेर निश्चित नभएकाले तीन तरिकाले अनुमान गरेको हो।

युएनडब्लुटीओले अहिलेको लकडाउन वा यात्रा प्रतिबन्ध जुलाइभित्रै खुलेमा ५८ प्रतिशत अर्थात् ८५ करोड पर्यटक घट्ने छन्। प्रतिबन्ध लम्बिएर सेप्टेम्बरसम्म पुगेमा १ अर्ब घट्ने छन् भने डिसेम्बरसम्म प्रतिबन्ध कायमै भएमा ८० प्रतिशत अर्थात् १ अर्ब १० पर्यटक न्यून हुने छन्। यसबाट आम्दानीमात्र होइन करोडौं मान्छेको रोजगारी गुम्ने युएनडब्लुटीओको अनुमान छ।

सन् २०२० को पहिलो त्राइमासमै पर्यटन क्षेत्रले ८० अर्ब डलर गुमाइसकेको युएनडब्लुटीओले बताएको छ। युएनडब्लुटीओका अनुसार यो अवधिमा सन् २०१९ को तुलनामा २२ प्रतिशतले पर्यटक घटेका छन्। पहिलो त्राइमासको पहिलो २ महिना संसारभर यात्रा पुरै प्रतिबन्ध नभएकाले अवस्था धेरै नघटेपनि लकडाउनपछिको अवस्था भयावह हुने छ।

युएनडब्लुटीओको अध्ययनअनुसार पहिलो त्राइमासमा सबैभन्दा बढी एसियामा घटेका छन्। यो क्षेत्रमा ३५ प्रतिशतले पर्यटक घटेका छन्। युरोपमा १९,अमेरिकामा १५,अफ्रिकमा १३ र मध्यपूर्वमा ११ प्रतिशतले घटेका छन्।