काठमाडौं – साताको अन्तिम दिन आज विहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२ अंकले घटेको छ । दिनभर तीव्र उतराचढाव गरेको नेप्से परिसूचक अन्तिममा १२ अंक घटेर बन्द भएको हो ।
यससँगै परिसूचक २७ सय २७ अंकमा आइपुगेको छ । आज बजार परिसूचक ०.४४ प्रतिशतले घट्यो । परिसूचक घटेसँगै कारोबार रकम समेत ओरालो लाग्न थालेको छ । आज ९ अर्ब ६५ करोड १५ लाख रुपैयाँ बराबरको २ करोड १ लाख ५३ हजार कित्ता शेयर किनबेच भएको छ ।
परिसूचक घटेपनि आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशत बढ्यो । यस्तै युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९ प्रतिशतले बढ्यो । यता नेपाल फाइनान्सको शेयर मूल्य ८.९१ प्रतिशतले घट्यो । यो नै आज सबैभन्दा धेरै गुमाउने कम्पनी बन्यो ।
२४ सय रुपैयाँ प्रतिकित्ता शेयर मूल्य पुगेको कम्पनीको बजार मूल्य आज १५ सय रुपैयाँमा झरेको छ । आज यही कम्पनीको शेयर सबैभन्दा बढी कारोबार भएको छ । यो कम्पनीको ४० करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको हो ।
यसपछि एनएलजी इन्स्योरेन्सको ३४ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो । १२ अंकले नेप्से घटेपनि लघुवित्त र व्यापार समूहमा भने वृद्धि आएको छ । लघुवित्त समूह ८६ अंकले र व्यापार समूह ६ अंकले बढ्यो । यस्तै आज जीवन बीमा कम्पनी समूह १०२ अंकले घटेको छ ।
प्रतिक्रिया