काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले अब सहकारीमा कडाइका साथ नियमन हुने बताएका छन् । नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को १४औं स्थापना दिवसको अवसरमा प्रमुख अतिथिको रूपमा बोल्दै मन्त्री अधिकारीले सहकारीमा आएका समस्यालाई समाधानका लागि सरकार अहिले लागि परेको र अब प्रभावकारी नियमनका लागि पनि काम गरिरहेको बताएका हुन् ।
मन्त्री अधिकारीले सहकारी क्षेत्रमा देखिएका समस्या तत्कालै समाधान गर्न नसकिने भएपनि विस्तार सुधार हुँदै जाने बताए । ‘सहकारी क्षेत्रलाई व्यवस्थित बनाउन हामीले नियामक निकाय स्थापना गर्ने कार्य अगाडि बढाएका छौं । यसका लागि कानुन बन्दैछ’ उनले भने, ‘यो निकाय कस्तो बनाउने भनेर ऐनको मस्यौदा मन्त्रिपरिषदमा लिँदैछौं,’ उनले भने ।
मन्त्री अधिकारीले सरकारको पक्षबाट यो क्षेत्रमा भएका समस्या हल गर्न प्रयास भइरहेको बताए । सहकारी क्षेत्रमा भएका राम्रा र नराम्रा पक्षलाई पत्रकारले उजागर गर्नुपर्ने मन्त्री अधिकारीको भनाई छ । ‘अर्थतन्त्रको तीन खम्बा मध्ये एक महत्वपूर्ण खम्बा सहकारी हो । यस क्षेत्रमा भएका राम्रा र नराम्रा पक्षलाई पत्रकारले उजागर गर्नुपर्छ,’ उनले भने, ‘अहिले यो क्षेत्रमा देखिएको अविश्वासमा विश्वसनीयता बढाउनुपर्छ । सहकारीप्रति अहिले भ्रम फैलाइएको छ, त्यसलाई हामीले चिर्नुपर्ने छ ।’
पछिल्लो समय जनमानसमा सबै सहकारी खराब छन् भन्ने हल्ला र भ्रम फैलाइएको मन्त्री अधिकारीको भनाइ छ । ‘सहकारीमा एकै प्रकृतिका मानिस छैनन् । कोही सानो बचत गर्ने, कोही ठूलो ठूलो बचत गर्ने, कोही आन्दोलनका लागि मात्र पनि सहकारीमा प्रवेश गरेका छन्’, सबैको स्वार्थ एउटै छैन,’ मन्त्री अधिकारीले भने । यस्तै, कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारी क्षेत्रमा अहिले सबै मिलेर विश्वास बढाउनु पर्ने बताए । सहकारीका विषयगत संघ÷संस्थालाई सक्रिय बनाउनुपर्ने उनको भनाई छ ।
‘सहकारी क्षेत्र नै संवेदनशील अवस्थामा छ । यो अवस्थामा हामीले सहकारीकर्मी र सहकारीका सदस्यलाई विश्वास बढाउनु पर्छ,’ उनले भने, ‘ऐन नियम विपरित काम भएका भए पत्रकारले बाहिर ल्याउनुपर्छ ।’ कार्यक्रममा राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले सहकारी क्षेत्रका विषय बाहिर ल्याउन सञ्चारकर्मीले महत्वपूर्ण भूमिका खेलेको बताइन् । उनले पत्रकारलाई सत्यलाई सत्य र असत्यलाई असत्यका भनेर समाचार सामग्री सम्प्रेष गर्न पनि आग्रह गरिन् ।
कार्यक्रममा नेपाल कृषि केन्द्रीय सहकारी संघका अध्यक्ष खेमबहादुर पाठकले सहकारी अभियानबाट केही कमीकमजोरी भएको बताउँदै अब यसलाई सच्याएर अगाडि बढ्नुपर्ने धारणा राखे । उनले सरकार, अभियान र सञ्चार क्षेत्रले सहकार्य गरर अगाडि बढ्नुपर्ने धारणा राखिन् । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष यादव हुमागाईले सहकारी क्षेत्रमा कलम चलाउने सिमित पत्रकारहरूको प्रयासबाट स्थापना भएको सीजेएनमा वर्सेनि सदस्यहरू बढ्दै गइरहेको बताउँदै संस्थाले गर्ने गतिविधिमा पनि गुणात्मक विकास र विस्तार हुँदै गएको बताए ।
संस्थाले विभिन्न क्षमता अभिवृद्धिमूलक कार्यक्रम, पत्रकारिता तालिम, समसामयिक विषयवस्तुमाथिको छलफल लगायत कार्यक्रमहरू आयोजना गरेर सदस्यको कलम तिखार्ने काम सीजेएनले गरिरहेको उनको भनाई छ । यस्तै, राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामहरि बजगाईंले सहकारी पत्रकार समाजले सहकारी क्षेत्रमा भएका विकृति तथा विसंगतिमा कलम चलाउन आफ्ना सदस्यलाई उत्प्रेरि गराएर ठूलो योगदान गरेको बताए । आगामी दिनमा पनि यो क्षेत्रलाई व्यवस्थित बनाउन अझ सशक्त भूमिका खेल्नुपर्ने उनको भनाई छ ।
प्रतिक्रिया