टिकेन शेयर बजारको वृद्धि, ९० अंकले घटेर २७ सय ३९ अंकको बिन्दुमा आइपुग्यो

टिकेन शेयर बजारको वृद्धि, ९० अंकले घटेर २७ सय ३९ अंकको बिन्दुमा आइपुग्यो


काठमाडौं – शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ९० अंकले घटेको छ । आइतबार ५३ अंकले घटेको बजार सोमबार १२७ अंकले बढेको थियो । यस्तै मंगलबार ६ अंकले बढेको थियो । जुन आज एकै दिन ९० अंकले घटेको हो ।

यससँगै आज परिसूचक २७ सय ३९ अंकमा आएर रोकिएको छ । यो ३.२० प्रतिशतको गिरावट हो । यसक्रममा आज ३१ कम्पनीको शेयर मूल्य बढेको छ । यस्तै २१३ कम्पनीको शेयर मूल्य भने घटेको छ । १ कम्पनीको मूल्य स्थिर कायम छ ।

बजार घटेपनि आज ४ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । एक्सेल डेभलपमेन्ट, विन नेपाल लघुवित्त, सामुदायिक लघुवित्त, समाज लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको हो । यसबाहेक इस्टर्न हाइड्रोपावरको शेयर मूल्य ९ प्रतिशतभन्दाबढीले बढेको छ ।

आज १२ अर्ब ९२ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ । यसक्रममा २ करोड ६५ लाख कित्ता शेयर किनबेच भएको छ । आज नेपाल फाइनान्सको शेयर सबैभन्दा धेरै कारोबार भयो । यो कम्पनीको ३० करोड ५२ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको हो ।

परिसूचकमा झण्डै १०० अंकको गिरावट आउँदा सबै समूह घटेका छन् । सबैभन्दा धेरै गिरावट जीवन बीमा कम्पनी समूहमा आएको छ । यो समूह ५२८ अंकले घटेको छ ।