काठमाडौं – ३ हजार अंकको बिन्दुमा पुगेपछि घट्न थालेको शेयर बजारमा फेरी रौनक फर्किएको छ । २६ सय ९५ अंकसम्म झरेपछि आज सोमबार भने शेयर बजार परिसूचक एकैदिन ह्वात्तै बढेको हो ।
आज १२७ अंकले बढेसँगै परिसूचक २८ सय २३ अंकको बिन्दुमा पुगेर रोकिएको छ । हिजो आइतबार परिसूचक २६ सय ९५ अंकको बिन्दुसम्म झरेको थियो । एकैदिन १२७ अंकले बढेपछि २८ सय अंकभन्दा माथिको बिन्दुमा परिसूचक पुगेको हो ।
आज सोमबार २३९ वटा कम्पनीको शेयर मूल्य बढ्यो । यस्तै ५ कम्पनीको मूल्यमा भने गिरावट आएको छ । यसक्रममा ७ वटा कम्पनीको शेयर मूल्यमा भने १० प्रतिशतको वृद्धि देखिएको छ । यस्तै १० कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।
यसक्रममा आज गुडविल फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै कारोबार भएको छ । यो कम्पनीको ४६ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको हो । यसपछि अपि पावरको ४१ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ ।
यसैगरी, हिमालयन रि–इन्स्योरेन्सको शेयर ३३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यसक्रममा आज १३ अर्ब १० करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । यस्तै ३ करोड १४ लाख कित्ता शेयर किनबेच भएको छ ।
आज कुनैपनि समूहमा गिरावट आएको छैन । कारोबारमा आएका सबै १३ वटै समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी जीवन बीमा कम्पनी समूहको सूचक ६२४ अंकले बढेको छ । यस्तै निर्जीवन बीमा कम्पनी समूहको सूचक ६२३ अंकले बढेको छ ।
यसबाहेक अरु सबै समूहमा समेत वृद्धि आएको छ । बैंक समूह ७२ अंकले बढेको छ । विकास बैंक २६६ अंकले बढेको छ भने वित्त समूह २७३ अंकले बढेको छ ।
प्रतिक्रिया