शेयर बजारमा ‘बुलिस ट्रेण्ड’ चल्दा ‘अटोमोबाइल्स सेक्टर भाइब्रेन्ट’ बन्छ ? (भिडियोसहित)

शेयर बजारमा ‘बुलिस ट्रेण्ड’ चल्दा ‘अटोमोबाइल्स सेक्टर भाइब्रेन्ट’ बन्छ ? (भिडियोसहित)


काठमाडौं – यही भदौ ११ गतेदेखि सुरु भएको नाडा अटो शो २०२४ मा उल्लेख्य सहभागिता देखिएको छ । दसैँ र तिहारको पूर्व सन्ध्यामा आयोजना भएको अटो शोमा उल्लेख्य सहभागिता देखिएको हो । यतिबेला शेयर बजार समेत निरन्तर बढ्दो अवस्थामा छ । पछिल्लो दुई महिनाको अवधिमा शेयर बजार परिसूचक बढेर ३ हजार अंकसम्म पुगेको थियो । यद्यपि, पछिल्लो समय केही ‘करेक्सन’ देखिएको छ ।

यस्तै, यतिबेला अर्थतन्त्रको आन्तरिक सूचक बाहेक बाह्य सूचक सकारात्मक छन् । विदेशी मुद्राको सञ्चिति १३ महिनाको सम्पूर्ण आयात धान्ने स्थितिमा छ । रेमिट्यान्स बढेको बढ्यै छ । यस्तै, नेपालको शोधानान्तर स्थिती समेत सकारात्मक छ । यही अवस्थामा कोरोना महामारीयता शिथिल बनेको अर्थतन्त्र फेरी सकारात्मक बन्ने अपेक्षामा निजी क्षेत्र छ । यतिबेला दुई ठुला राजनीतिक दल नेपाली काँग्रेस र नेकपा एमालेले सत्ता साझेदारी गरिरहेका छन् ।

यी दुई राजनीतिक दलको दुई तिहाइ बहुमत छ । यस्तो अवस्थामा अर्थतन्त्र लयमा फर्कने निजी क्षेत्रको अपेक्षा छ । यही अपेक्षासहित ६ दिनसम्म चलेको नाडा अटो शोमा सहभागी कम्पनीहरुसँग बैंकिङ्ग समाचारले कुराकानी गरेको छ ।

कियाका अनिश लामिछाने नाडा अटो शोका कारण बजारमा चहलपहल बढेको बताउँछन् । बैंकिङ्ग समाचारको टिमसँगको कुराकानीमा उनी भन्छन्, ‘अहिले गाडी किन्न चाहनेहरूका लागि अटो शो एकदमै उत्तम थलो हो । सबै प्रकारका गाडी एउटै थलोमा पाइन्छ ।’

यस्तै, उनी अटो शोका कारणले गाडीको बुकिङ समेत बढेको बताउँछन् । यसबाहेक यतिबेला निरन्तर उकालो लागेको शेयर बजारका कारण पनि सवारी क्षेत्र चलायमान बन्ने अपेक्षा आफूहरुको रहेको उनको भनाइ छ ।

यस्तै, बीएडब्लूका बिक्री प्रमुख सृजेश गौतम समेत यतिबेला बजारमा छुट्टै खालको चहलपहल देखिएको बताउँछन् । गौतम समेत नाडा अटो शोमा सहभागीताको रुची ईभीतर्फ देखिएको बताउँछन् । आफूहरूले ल्याएको नयाँ ब्रान्डमा समेत सहभागीको रुची देखिएको गौतमको भनाइ छ ।

गौतम समेत शेयर बजारमा आएको सकारात्मक वृद्धिबाट उत्साहित छन् । शोमा आउने ग्राहकमध्ये कतिपयले शेयरको पैसा ल्याएर सवारी किन्ने योजना रहेको सुनाउने गरेका छन् । बजार बढ्दाको सकारात्मक प्रभाव सवारी बजारमा पर्ने उनी बताउँछन्।

यस्तै, सुजुकी स्वरुम प्रमुख राजेन्द्र पाण्डे कोरोना महामारीपछि थलिएको बजार उकालो लाग्न थालेको बताउँछन् । ईभीका कारण अटोमोबाइल्स क्षेत्र गत वर्षको तुलनामा यो वर्ष राम्रो र अर्को वर्ष झनै राम्रो हुने बताउँछन् । अहिले अवलोकनका लागि ईभीमा बढी भिडभाड छ । यस्तै, पाण्डे समेत शेयर बजार चलायमान बन्दा समग्र अर्थतन्त्र चल्ने बताउँछन् । सवारीका लागि ठुलो रकम चाहिने भएकाले शेयर बजारको नाफा यता आउन सक्ने स्थिती देखिएको छ । यस्तै, घरजग्गा र सवारी बजार समेत बढ्दा समग्र अर्थतन्त्र उकालो लाग्छ ।

वीवाईडीकी स्वरुम सेल्स म्यानेजर सन्ध्या श्रेष्ठ अटो शोमा सहभागिमध्ये ९० प्रतिशत ग्राहक ईभीमा केन्द्रीत रहेको बताउँछिन् । कम्पनीले अटो शोमा राखेको बुकिङको टार्गेटको ६० प्रतिशत ‘अचिभ’ भइसकेको छ । यस्तै, आउँदो दसैँ र तिहारमा ८० प्रतिशतले बजार बढ्ने अपेक्षा रहेको उनको भनाइ छ ।

नाडा अटोमोबाइल एशोसिएसनका कार्यसमिति सदस्य तथा आयोजक रिद्धि कार्की दसैँ तिहारको मुखमा भएको अटो शोका कारण अर्थतन्त्रमा चलायमान बन्ने अपेक्षा रहेको बताउँछन् । देशको राजश्व संकलनमा मुख्य हिस्सा ओगट्दै आएको सवारी क्षेत्रको बिक्री बढ्दा सकारात्मक प्रभाव पर्छ नै । यस्तै, बैंक तथा वित्तीय क्षेत्रको कर्जा प्रवाह समेत बढ्ने कार्कीको भनाइ छ ।

कोरोना महामारीपछिको एक वर्षमा बजारमा आर्थिक मन्दी थिएन । तर, सरकार र केन्द्रीय बैंकले कडा नीति लिँदा बजारमा शिथिलता आयो । तर, यतिबेला अर्थतन्त्र चलायमान बन्ने अपेक्षा लिइएको छ । यही समयमा शेयर बजारमा आएको सकारात्मक प्रभावका कारणले समेत सवारीको बिक्री वितरण बढ्ने अपेक्षा रहेको कार्की बताउँछन् ।