बजारमा १.४५ प्रतिशतले नगद परिचालन घट्दा, बढ्याे सरकारी निक्षेप

बजारमा १.४५ प्रतिशतले नगद परिचालन घट्दा, बढ्याे सरकारी निक्षेप


काठमाडौं – एक महिनाको अवधिमा बजारमा नगद परिचालन १.४५ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन महिनाको मासिक विवरणमा यस्तो देखिएको हो ।

विवरण अनुसार साउन महिनासम्ममा बजारमा ६ खर्ब ७० अर्ब २० करोड रुपैयाँ बराबरको नगद परिचालन भएको छ । गत असार महिनासम्ममा भने बजारमा ६ खर्ब ८० अर्ब ४ करोड रुपैयाँ बराबरको नगद परिचालन भएको थियो ।

साउन महिनासम्म केन्द्रीय बैंकमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप २ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ । जुन असार महिनाको तुलनामा ७.८७ प्रतिशतले कम हो । असार महिनासम्म राष्ट्र बैंकमा बैंक तथा वित्तीय संस्थाको निक्षेप २ खर्ब ९० अर्ब रुपैयाँ थियो।

यस्तै, राष्ट्र बैंकमा सरकारको निक्षेप भने बढेर साउनसम्म बढेर १ खर्ब ६६ अर्ब पुगेको छ । असार महिनासम्म ६३ अर्ब ९५ करोड रुपैयाँ सरकारी निक्षेप रहेको थियाे ।

साउन महिनासम्म राष्ट्र बैंकमा बैंक तथा वित्तीय संस्थाले ७ अर्ब ७५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा निक्षेप गरेका छन् । जुन असार महिनाको तुलनामा ३९. ७७ प्रतिशतले कम हो ।