काठमाडौं – आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । साताको पहिलो कारोबार दिन ३४ अंकले घटेको बजार आज २.११ अंकले बढेर बन्द भएको हो ।
आज दिनभर नेप्से परिसूचक नागबेली चालमा तलमाथि गरिरह्यो । बजारमा शेयर लगानीकर्तामा २९ सय अंक बिन्दुमो मनोबैज्ञानिक त्रास आज स्पष्टरुपमा नै देखिएको छ । ३ हजार अंकको बिन्दुमाथि पुगिसकेको नेप्से परिसूचक पछिल्लो दुई कारोबार दिनमा भने २९ अंकको बिन्दुमा रुमल्लिएको छ ।
परिसूचक ०.०७ प्रतिशतले बढ्दा आज २९ सय ६८ अंकको बिन्दुमा पुगेर रोकिएको छ । यसक्रममा १०० वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४० वटा कम्पनीको मूल्य घटेको छ । यस्तै ४ कम्पनीको मूल्य स्थिर कायम छ ।
यस्तै आज १८ अर्ब ९० करोड रुपैयाँको शेयर कारोबार भएको छ । आइतबार २८ अर्ब रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको थियो । आज ४ करोड १४ लाख कित्ता शेयर किनबेच भएको छ । बजार सामान्य बढेपनि आज ४ कम्पनीको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।
कर्पोरेट डेभलपमेन्ट, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स र दोल्ती पावरको शेयर मूल्य १० प्रतिशतले बढेको हो । यसबाहेक ५ कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । यता कर्णाली विकास बैंकको शेयर मूल्य भने १० प्रतिशतले घटेको छ ।
आज हिमालयन रिइन्स्योरेन्सको शेयर मूल्य सबैभन्दा धेरै कारोबार भएको छ । यो कम्पनीको ६६ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो । यसपछि अपिपावरको ४५ करोड ७८ लाख रुपैयाँको र एभरेष्ट बैंकको ४५ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।
आज बुधबार बैंक समूह, विकास बैंक समूह, वित्त समूह र अन्य समूहमा वृदि्ध आएको छ । यस्तै लगानी समूहमा समेत वृदि्ध आएको छ । यीबाहेक होटल र टुरिजम, जलविद्युत, जीवन बीमा, लघुवित्त, उत्पादनमूलक, म्यूचुअल फण्ड, निर्जीवन बीमा र व्यापार समूहको सूचकमा गिरावट आएको छ ।
प्रतिक्रिया