काठमाडौं – नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार हाल बैंकिङ्ग प्रणालीमा निक्षेप संकलन ६४ खर्ब २४ अर्ब पुगेको छ। केन्द्रीय बैंकको तथ्यांकअनुसार साउन ३० गते बैंकिङ्ग प्रणालीमा सो रकम बराबरको निक्षेप संकलन भएको हो ।
साउन २९ गते बैंकिङ्ग प्रणालीमा ६४ खर्ब १९ अर्ब निक्षेप संकलन भएकोमा ३० गते ५ अर्बले निक्षेप संकलनमा वृद्धि आएको हो । यस्तै, सो समयमा वाणिज्य बैंकहरुबाट हुने निक्षेप संकलन ५ अर्बले नै बढेको छ । साउन २९ गते ५६ खर्ब ९३ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले ३० गते ५६ खर्ब ९८ अर्ब निक्षेप संकलन गरेका छन् ।
त्यस्तै, सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह ३ अर्बले बढेको छ । गत शनिबारसम्म ५१ खर्ब ६२ अर्ब कर्जा प्रवाह भएकोमा आइतबार ५१ खर्ब ६५ अर्ब कर्जा प्रवाह भएकाे छ ।
त्यस्तै, सो समयमा वाणिज्य बैंकहरुले गर्ने कर्जा प्रवाहमा पनि केही सुधार देखिएको छ । गत शनिबार वाणिज्य बैंकहरुले ४५ खर्ब ६८ अर्ब कर्जा प्रवाह गरेकामा आइतबार २ अर्बले बढेको हो । आइतबार वाणिज्य बैंकहरुले ४५ खर्ब ७० अर्ब कर्जा प्रवाह गरेका छन् ।
राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो पनि ७९.१८ प्रतिशतमा कायम भएको देखाएको छ। त्यस्तै, केन्द्रीय बैंकको तथ्यांकअनुसार अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको देखाउँछ ।
प्रतिक्रिया