क्रिप्टोको प्रचारमा विवादित प्रियंकाले फेसबुक बिरुद्ध मुद्धा हाल्ने

क्रिप्टोको प्रचारमा विवादित प्रियंकाले फेसबुक बिरुद्ध मुद्धा हाल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
क्रिप्टोकरेन्सीसम्बन्धी एउटा प्रकरणमा आफ्नो नाम मुछिएपछि अभिनेत्री प्रियङ्का कार्कीले आफूले कानुनी उपचारबारे परामर्श थालेको बीबीसीलाई बताएकी छिन्।

फेसबुकको एउटा स्पोन्सर्ड पोस्टमा कार्कीको फोटोसहित इन्भिजिबलफ्रेन्ड्स डट को नामक वेबसाइटको लिङ्क राखिएको विज्ञापन केही दिनअघि देखा परेको थियो।

त्यसपछि उक्त विषयमा आइतवार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीसँग सोधपुछ गरेको थियो।

सीआईबीले त्यसबारे अहिले अनुसन्धान भइरहेको जनाएको छ।

सीआईबीसम्म कसरी पुग्यो ?

सीआईबीका प्रवक्ता श्यामकुमार महतोले स्रोतबाट प्राप्त सूचनाका आधारमा आफूहरू सोधपुछको प्रक्रियामा गएको बीबीसीलाई बताए।

अभिनेत्री कार्कीका अनुसार क्रिप्टोसम्बन्धी विज्ञापन देखेर नेपाल राष्ट्र ब्याङ्कले सीआईबीलाई जानकारी दिएपछि उसले आफूलाई सोधपुछका लागि बोलाएको थियो।

हामीले सूचना पाइसकेपछि उहाँ  प्रियङ्का कार्कीे लाई सम्पर्क गर्‍यौँ। किनभने उहाँको फोटो दुरुप्रयोग भएको कुरामा उहाँसँग भएकोभन्दा भरपर्दो सूचना अरूसँग नपाउन सकिन्छ महतोले भने।

उहाँका भर्सनहरू कोट गरेर फेसबुकमा पेजहरूमा क्रिप्टोलाई प्रवर्धन गर्ने खालका गतिविधि भइरहेका छन् भन्ने सूचना स्रोतबाट हामीलाई आयो। 

त्यो सूचना प्राप्त भइसकेपछि यो चाहिँ उहाँले जानीजानी गर्नुभएको हो अथवा नजानी भएको हो, कुन परिस्थितिमा कसरी आएको हो भन्ने कुरा हामीले बुझ्न खोज्यौँ त्यही सन्दर्भमा उहाँलाई बोलायौँ।

प्रियङ्का कार्कीले प्रहरीलाई के भनिन् ?

अभिनेत्री कार्कीका अनुसार प्रहरीले क्रिप्टोसम्बन्धी विज्ञापन तथा त्यसमा उनले खेले वा नखेलको बारेमा सोधेका थिए।

अनि मैले चाहिँ मेरो कुनै संलग्नता छैन, म क्रिप्टो बुझ्दा पनि बुझ्दिन । बरु यसको पीडित म हुँ, मेरो फोटो दुरुपयोग भएको छु भनेँ, बीबीसीसँग उनले भनिन्।

सो क्रममा आफू के कसरी उजुरी दिन सकिन्छ भन्नेबारे पनि प्रहरीलाई सोधेको अभिनेत्री कार्कीले बताइन्।

आफू मुछिएको स्पोन्सर्ड पोस्टबारे पनि उनले अनभिज्ञता प्रकट गरेको सीआईबीले जनाएको छ।

तपाईँहरूले मलाई सम्पर्क गरेपछि बल्ल थाहा भयो। विगतमा पनि मेरा फोटो दुरुपयोग भएका घटना छन्, यो पनि सम्भवतः त्यस्तै भएको हुनुपर्छ, अभिनेत्री कार्कीलाई उद्धृत गर्दै सीआईबीका प्रवक्ता महतोले बीबीसीसँग भने।

अब उनी के गर्छिन् ?
आफ्नो सहमतिबेगर गैरकानुनी कारोबारसम्बन्धी विज्ञापनमा तस्बिर प्रयोग गरेर चरित्रहत्याू गरिएको अभिनेत्री कार्कीले बताइन्।

उनका अनुसार फेसबुकमा स्पोन्सर्ड पोस्ट गरेको वेबसाइट सिङ्गापुरमा दर्ता भएको प्रहरीले पत्ता लगाएको छ।

फेसबुकविरुद्ध नै मुद्दा हाल्ने कि सिङ्गापुरमा दर्ता भएको त्यो वेबसाइटविरुद्ध मुद्दा हाल्ने भन्ने विषयमा लीगल टीमसँग मेरो कुरा भइरहेको छ, अभिनेत्री कार्कीले भनिन्।

भोलि गएर फेरि यस्तो नहोस् भनेर कसै न कसैले यो कदम चाल्नैपर्‍यो। अन्तर्राष्ट्रिय कानुन कसरी आकर्षित हुन्छ, सिङ्गापुरमै रहेका मेरो तर्फबाट कोही नेपालीले गरिदिँदा हुन्छ कि म भन्ने बुझ्दैछु, उनले थपिन्।

इन्भिजिबलफ्रेन्ड्स डट को ले आउटसोर्स गरेर स्थानीय विज्ञापन नेपालमा बनाउन लगाएको र त्यसका लागि कसै न कसैलाई नेपालमा हात लिएको हुनुपर्ने उनको ठम्याइ छ।

सिङ्गापुरका मान्छेले मलाई पक्कै चिनेको छैन। सिङ्गापुरबाट नेपालमा आउटसोर्स गरेर पक्कै कसैलाई विज्ञापनको जिम्मा दिएको हुनुपर्छ  उनले भनिन्।

कानुनविद्‌ के भन्छन् ?
एकजना कानुनविद्‌ले नेपालको कानुनअनुसार अवैध कारोबारमा बिनासहमति विज्ञापनका लागि तस्बिर प्रयोग गरेको विषयमा अभिनेत्री कार्कीले कानुनी उपचार खोज्न सक्ने आधार रहेको बताएका छन्।

मुद्दा हाल्न खोजेको देशमा यदि क्रिप्टोकरेन्सी वैध हो भने त क्रिप्टोलाई लिएर मुद्दा हाल्न नसकिएला। तर सहमतिबिना तस्बिर प्रयोग गरेर गोपनीयताको हनन गरेको विषयमा मुद्दा हाल्न सकिन्छ, साइबर कानुनका जानकार अधिवक्ता बाबुराम अर्यालले बीबीसीसँग भने।

हाम्रो विद्युतीय कारोबार ऐन, २०६३ बाह्य क्षेत्राधिकारअन्तर्गत नै जान सकिन्छ। त्यसैगरी गोपनीयतासम्बन्धी सम्बन्धित देशको कानुनमा टेकेर मुद्दा हाल्न सकिन्छ,ू उनले थपे।

अधिवक्ता अर्यालका अनुसार मुद्दाको प्रक्रियामा जाँदा केही कठिनाइ चाहिँ हुन सक्छ।

मुद्दामा जाँदा खर्चिलो हुन्छ, प्रक्रिया लामो हुन्छ। तर कानुनी उपचारमा जान नसकिने भन्ने होइन, उनले भने।

सीआईबीले के गर्दैछ ?
अभिनेत्री कार्की जोडिएको प्रकरणलाई विभिन्न कोणबाट हेरिरहेको प्रहरीले सङ्केत गरेको छ।

कसले विज्ञापन राखे, उहाँको सहमतिमा राखे अथवा आफैँ राखे। उहाँको फोटोको दुरुपयोग पनि हुनसक्छ। किनकि स्थापित भइसकेका व्यक्तिका फोटो विगतमा दुरुपयोग भएको पनि हामीले देखेका छौँ,ू प्रवक्ता महतोले भने।

त्यो पनि सम्भावना रहने भएकोले अनुसन्धान हुँदैछ। अब तथ्य के आउँछ, त्यो अनुसन्धानबाटै थाहा होला ।

लगानी गरेको कुरा उहाँले अस्वीकार गर्नुभएको छ। तर पनि भर्सन एउटा कुरा हो। आधार, प्रमाण हामी केलाउँछौँ। त्यसपछि तथ्यप्रमाण त भइहाल्छ नै, प्रवक्ता महतोले थपे।

फेसबुकमा स्पोन्सर्ड पोस्ट कसले कहाँबाट राखे भन्ने विषयमा पनि अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

क्रिप्टोकरेन्सी के हो ?
क्रिप्टोकरेन्सी भनेको भर्चूअल मुद्रा हो। यसको अस्तित्व अनलाइनमा सीमित रहन्छ। भौतिक रूपमा देख्न वा छुन नसके पनि यसको मूल्य तोकिएको हुन्छ।

यस भर्चूअल मुद्राको कुनै केन्द्रीय ब्याङ्क हुँदैन अर्थात् यसलाई नियमन गर्ने कुनै केन्द्रीय निकाय हुँदैन।

संसारभरिका कम्प्युटरहरूमा रहेको राखिएको डिजिटल रेकर्डका आधारमा यो सञ्चालन हुन्छ।

क्रिप्टोकरेन्सीको प्रयोग गरेर सरसामान किन्न वा भुक्तानी गर्न सकिन्छ। यसलाई कम्प्युटर वा मोबाइल फोनमार्फत् डिजिटल वालेटमा राख्न सकिन्छ।

सबै क्रिप्टोकरेन्सी  ब्लकचेनु भनिने प्रविधिमा आधारित हुन्छन्। सन् २००९ देखि चर्चामा आएको बिटकोइन पहिलो क्रिप्टोकरेन्सी हो।

बिटकोइनको संस्थापन श्रेय सातोशी नाकामोतोलाई दिइएको छ। रोचक कुरा त के छ भने सातोशी नाकामोतो को हुन् भनेर आजसम्म कसैलाई थाहा छैन।

अहिलेसम्म हजारौँको सङ्ख्यामा क्रिप्टोकरेन्सी अस्तित्वमा आएका छन् र नयाँ क्रिप्टोकरेन्सी थपिने क्रम जारी छ।

नेपालमा क्रिप्टोकरेन्सीसम्बन्धी सबै कारोबार गर्न निषेध गरिएको छ।

बिबिसी बाट