सीआईबीले तामेलीमा राख्यो रिलायन्स स्पिनिङको फाइल, धितोपत्र बोर्डलाई पठायो पत्र

सीआईबीले तामेलीमा राख्यो रिलायन्स स्पिनिङको फाइल, धितोपत्र बोर्डलाई पठायो पत्र


काठमाडौं – केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले रिलायन्स स्पिनिङ मिल्सको प्राथमिक शेयर निष्काशन (आईपीओ) प्रक्रियामाथिको अनुसन्धान तामेलीमा राखेको छ । सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार आईपीओ अनुसन्धानको फाइल सीआईबीले अनुसन्धान तामेलीमा राखेको हो ।

बैंकिङ्ग समाचारसँगको कुराकानीमा बोगटीले भने, ‘हामिले धितोपत्र बोर्डसँग यसबारे कागजात मगाएका थियौं । बोर्डबाट कागजात ठिकठाक छ भनेर आएपछि अनुसन्धान तामेलीमा राखेका हौं ।’ सीआईबीले बोर्डलाई कागजात मागेपछि समिति नै गठन गरेर अध्ययन भएको थियो ।

१ महिना लगाएर बोर्डले गरेको अध्ययन प्रतिवेदन सीआईबीलाई बुझाइएको थियो । यसबारे बोर्डले अनुसन्धान गरेर कम्पनीले बुझाएको वित्तीय विवरण झुटो नभएको प्रतिवेदन बुझाएपछि अनुसन्धान तामेलीमा राखेको बोगटीको भनाई छ । ‘अनुसन्धान गर्न नपर्ने देखिएपछि तामेलीमा राख्छौं,’ बोगटी थप्छन्, ‘हामिले तामेलीमा राखेको बारे जानकारी बोर्डलाई दिइसक्यौं ।’

सीआईबीको समेत अनुसन्धान थन्काएपछि अब रिलायन्स स्पिनिङ मिल्सले आईपीओ बिक्रीको बाटो खुला भएको छ । कम्पनीले बुक बिल्डिङ प्रक्रियामा आईपीओ ल्याउने तयारी गर्दैछ । कम्पनीको आईपीओको मूल्य प्रतिकित्ता ८२०.८० पैसा तोकिएको छ । यसअघि असार अन्तिमदेखि वैदेशिक रोजगारीमा गएकालाई लक्षित गरेर आईपीओ बिक्री खुलाउने मिति तय भएको थियो । तर विवादित बनेपछि बोर्डले प्रक्रिया रोकेको थियो ।

यो मूल्य महँगो भएको र सोअनुसारको वित्तीय विवरण सार्वजनिक नभएको भन्दै अनुसन्धान प्रक्रिया अघि बढेको थियो । यही विषयमा संसदीय समितिमा समेत प्रश्न उठेको थियो । संसदीय समितिमा प्रश्न उठेपछि बोर्डले यसबारे छानबिन गरेको थियो । साथै सीआईबीले समेत पत्र काटेपछि छानबिन प्रक्रिया तीव्र बन्यो । र, सोही अध्ययन प्रतिवेदन सीआईबीमा पठाइएको थियो ।