ग्लोबल आईएमईका सीईओ रेग्मीको भदौ १ संयोग, आजकै दिन सुरु गरेका थिए ‘बैंकिङ्ग करियर’

ग्लोबल आईएमईका सीईओ रेग्मीको भदौ १ संयोग, आजकै दिन सुरु गरेका थिए ‘बैंकिङ्ग करियर’


काठमाडौं – सुरेन्द्रराज रेग्मीले आजदेखि ग्लोबल आईएमई बैंकको नेतृत्व सम्हालेका छन् । बैंकिङ्ग क्षेत्रमा ३६ वर्षको अनुभव बटुलेका रेग्मीले ग्लोबल आईएमईको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को भूमिकामा काम सुरु गरेका हुन् ।

रेग्मीले ग्लोबल आईएमई बैंकमा १६ वर्षको बैंकिङ्ग अनुभव बटुलेका छन् । २००८ देखि ग्लोबलमा ‘करियर’ सुरु गरेका रेग्मी त्यसको १६ वर्षपछि बैंकको व्यवस्थापनको सवोच्च पदमा पुगेका हुन् ।

ग्लोबल आईएमई बैंक नेपालको सबैभन्दा धेरै निक्षेपकर्ता ग्राहक भएको बैंक हो । २०६३ सालमा स्थापना भएको यो बैंकमा निक्षेपकर्ताको संख्या ५० लाख पुगेको छ । स्थापनाको १७ वर्षको अवधिमा बैंकले विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थालाई गाभेको छ ।

यससँगै यो बैंक अधिकांश सूचकमा नेपालको सबैभन्दा ठूलो बनेको छ । ५० लाखभन्दा बढी निक्षेपकर्ता रहेका यो बैंकमा हालैमात्र ५ खर्ब रुपैयाँ निक्षेपको सिमा नाघेको थियो । देशभर गरी बैंकका १ हजार १ सयभन्दा बढी सेवा केन्द्र छन् ।
भदौ १ मा करियर सुरु, भदौ १ मै सीईओ

आजदेखि प्रमुख कार्यकारी अधिकृतको भूमिका सुरु गरेका रेग्मीले आजभन्दा ३६ वर्षअघि आजकै दिन आफ्नो करियर सुरु गरेका थिए । उनले २०४५ साल भदौ १ गतेदेखि राष्ट्रिय वाणिज्य बैंकको तत्कालिन पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराको शाखाबाट आफ्नो करियर सुरु गरेका थिए ।

‘तत्कालिन समयमा वरिष्ठ सहायकको पदबाट बैंक क्षेत्रमा पसेको थिए,’ बैंकिङ्ग समाचारसँगको कुराकानीमा उनले भने, ‘सेवा सुविधा चाँही याद भएन ।’ त्यसयता उनले २ वटा बैंकमा मात्रै अनुभव बटुले । राष्ट्रिय वाणिज्य बैंकमा २० वर्षको अनुभव समेटेपछि २००८ देखि ग्लोबलमा आफ्नो करियर सुरु गरेको स्मरण गर्छन् रेग्मी ।

पर्वतको फलेवासमा जन्मेर उच्च शिक्षाका लागि पोखरा पुगेका रेग्मी स्नातक पहिलो वर्ष अध्ययन गर्दागर्दै राष्ट्रिय वाणिज्य बैंकमा छिरेका थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । यस्तै बेलायतबाट ‘एमबीए बैंकिङ्ग एण्ड फाइनान्स’ गरेका छन् ।

राष्ट्रिय वाणिज्य बैंकमा काम गर्दागर्दै सन् २००१ मा उच्च शिक्षा अध्ययनका लागि बेलायत पुगेका थिए । २ वर्षमा अध्ययन सकेपछि फर्केर ५ वर्षसम्म राष्ट्रिय वाणिज्य बैंकमा नै काम गरे । ‘विदेशबाट पढेर आएपछि ५ वर्षसम्म काम गर्नैपर्ने व्यवस्था थियो,’ उनले थपे, ‘त्यो अवधि सकेपछि ग्लोबल ज्वइन गरेँ ।’

बैंकिङ्ग समाचारसँगको कुराकानीमा नयाँ युवालाई मेहनेत र लगानशील बन्न सुझाउँदै भन्छन्, ‘मेहनेत र लगनशीलता कायम राखेपछि नेतृत्व तहमा गइन्छ । काम गरेपछि मेहनेतको फल ठूलो हुन्छ ।’ यस्तै यो क्षेत्रमा लागेपछि आत्तिन नहुने र समय आएपछि नेतृत्वमा पुग्ने गरी काम गर्दै जानुपर्ने उनको भनाई छ ।