बैंकिङ्ग समूहले उचाल्यो शेयर बजार, ३० अर्बको किर्तिमानी कारोबार

बैंकिङ्ग समूहले उचाल्यो शेयर बजार, ३० अर्बको किर्तिमानी कारोबार


काठमाडौं – बैंकिङ्ग समूहले उचालेको शेयर बजारमा अहिलेसम्मकै किर्तिमानी कारोबार भएको छ । आज साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करोबार सुरु भएदेखि नै उकालो लागेको थियो । तर, १३ मध्ये ५ वटा समूहमा गिरावट आउँदा पनि बैंकिङ्ग समूहले बजार धानेको हो । बैंकिङ्ग समूहमा लगानीकर्ता झुम्मिएपछि आज नेप्से परिसूचक ४३.०५ अंकले बढेर बन्द भएको हो।

यससँगै नेप्से परिसूचक ३ हजार अंकमाथि पुगेर बन्द भएको छ । यो पछिल्लो ३ वर्षयताकै उच्च बिन्दु हो । यसअघि सन् २०२१ को सेप्टेम्बरमा नेप्से परिसूचक ३ हजार अंकमाथि थियो । त्यसयता आज पहिलोपटक उच्च बिन्दुमा पुगेको हो । यस्तै, आज नेप्सेमा किर्तिमानी ३० अर्ब रुपैयाँको कारोबार भएको छ । २९ अर्ब ९५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएसँगै कारोबारमा किर्तिमान बनेको हो । यसअघि २७ अर्ब २४ करोड रुपैयाँको उच्च कारोबारको किर्तिमान थियो ।

आज २९ अर्ब ९५ करोड रुपैयाँभन्दा बढीको कारोबार हुँदा ६ करोड ८९ लाख कित्ता शेयर किनबेच भएको छ । परिसूचक ४३ अंकले बढ्नुमा बैंकिङ्ग समूहको भरथेग रह्यो । यसबाहेक विकास बैंक, होटल र टुरिजम, जलविद्युत, लगानी, म्यूचुअल फण्ड, व्यापार र निर्जीवन बीमा कम्पनी समूह समेत बढ्यो । यसबाहेक वित्त, जीवन बीमा, लघुवित्त र अन्य समूह घट्यो । विगत लामो समयदेखि निरन्तर बढ्दै आएको वित्त समूहमा १२१ अंकको गिरावट आएको छ । यसबाट शेयर लगानीकर्ता बैंक समूहमा झुम्मिएको देखाउँछ ।

आज बैंकहरुमा लगानीकर्ताको उत्साहजनक आकर्षण देखियो । यससँगै नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबी, ग्लोबल आईएमई, कुमारी, हिमालयन र माछापुच्छ्रे बैंकहरुको शेयर मूल्य उच्च अंकले बढ्यो । सँधैको जस्तै आज पनि हिमालयन रिइन्स्योरेन्सको शेयर सबैभन्दा धेरै कारोबार भएको छ । आज यो कम्पनीको ९१ अर्ब रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको हो ।