दैनिक २० अर्बभन्दा बढीको कारोबार, कहाँबाट आउँदैछ बजारमा पैसा ?

दैनिक २० अर्बभन्दा बढीको कारोबार, कहाँबाट आउँदैछ बजारमा पैसा ?


काठमाडौं – शेयर बजारमा दैनिक २० अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुन थालेको छ । एक महिनाअघिसम्म दैनिक मुस्किलले २ अर्ब रुपैयाँको कारोबार हुने बजारमा २० अर्बभन्दा बढीको कारोबार हुन थालेको हो । यो साताको ३ कारोबार दिनमा लगातार २० अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । साताका ३ दिनको कारोबार रकम एकमुष्ट रुपमा जोड्दा ७४ अर्ब ५२ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भइसकेको छ । यसले ‘बुलिस’ ट्रेण्डमा रहेको शेयर बजारमा कारोबार रकम अझै माथि जाने स्पष्ट संकेत गर्छ ।

साताको पहिलो कारोबार दिन आइतबार २० अर्ब ७ करोड रुपैयाँको शेयर किनबेच भएको थियो । यस्तै, सोमबार २५ अर्ब ७७ करोड रुपैयाँको शेयर किनबेच भएको थियो । यो अहिलेसम्मकै उच्च कारोबार थियो । तर त्यसको अर्को दिन मंगलबार नै २७ अर्ब २४ करोड रुपैयाँको शेयर किनबेच भयो । यो अहिलेसम्मकै किर्तिमानी कारोबार रकम हो ।

यस्तै, आज २१ अर्ब ५१ करोड रुपैयाँको कारोबार भएको छ । यसअघि अघिल्लो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ८३ अर्ब ५९ करोड रुपैयाँको शेयर किनबेच भएको थियो । अघिल्लो साताको ४ कारोबार दिनमा भएको कूल शेयर किनेबच यो साता ३ दिनमा भएको कारोबार करिब करिब बराबर हुन खोज्छ । यस्तै, यो साता अझै २ कारोबार दिन बाँकी छ । बुधबार र बिहीबार पनि २० अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएमा साताभरमा १ खर्ब रुपैयाँभन्दा बढीको शेयर किनबेच हुनेछ । जुन नेप्सेमा एउटै सातामा भएको सबैभन्दा धेरै कारोबारको नयाँ किर्तिमान हुनेछ ।

२० दिनमा साढे ३ खर्बभन्दा बढीको कारोबार
साउन महिनाको २० कारोबार दिनमा साढे ३ खर्ब रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ । यो महिना ९ दिन शेयर कारोबार भएन । ४ दिन शनिबार र ४ दिन शुक्रबार तथा १ दिन भोटो जात्रा परेकाले कारोबार भएन । बाँकी २० दिन नेप्से खुल्यो । जसमा कूल ३ खर्ब ६४ अर्ब ८५ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भयो । यसले शेयर बजारमा पर्याप्तरुपमा पैसा भित्रिरहेको झल्काउँछ ।

साउन १ गतेसम्म पनि दैनिक १० अर्ब रुपैयाँसम्मको कारोबार हुँदैनथ्यो । असार १७ गते राती नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता साझेदारीको सम्झौता भयो । त्यसअघि नै शेयर बजारमा यसबारे सुईँको गइसकेको थियो र बजार बढ्न थाल्यो। असार १७ गते नेप्से परिसूचक बढेपनि २ अर्ब ९९ करोड रुपैयाँको मात्रै शेयर किनबेच भएको थियो ।

त्यसयता, असार ३१ गते ८ अर्ब ७३ करोड रुपैयाँको शेयर किनबेच भयो । जुन साउन १ गते ९ अर्बभन्दा बढी माथि गयो र साउन २ गते १२ अर्बभन्दा माथि पुग्यो । यो १० अर्बभन्दा बढी कारोबार सुरु भएको पहिलो बिन्दु थियो । यसपछि शेयर बजारमा १० अर्बभन्दा तलको कारोबार भएको छैन । बरु दिनदिनै कारोबार रकमले नयाँ नयाँ किर्तिमान बनाउनेक्रम जारी राखेको छ ।

कहाँबाट आउँदैछ पैसा ?
माथिल्लो तथ्यांकले शेयर बजारमा उल्लेख्य रुपमा पैसा आइरको दर्शाउँछ । यो साता त दैनिक २० अर्बभन्दा बढीको कारोबार भइरहेको छ । यसको अर्थ शेयर बजारमा ठूलो रकम आइरहेको छ । किन्ने र बेच्नेहरुको भिड छ । आज करेक्सन आएको बजारमा समेत २१ अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यो आँफैमा ठूलो हो ।

नेपाल धितोपत्र बोर्डका पूर्व अध्यक्ष निरज गिरी ‘बुल मार्केट’मा सर्वसाधारणदेखि ठूला संस्थागत लगानीकर्ताले रकम हाल्ने बताउँछन् । बजार बढ्दो अवस्थामा रहँदा लगानीकर्ताले लगानीको जोखिम मोल्न चाहने गिरीको भनाई छ । सोही कारण दैनिक २० अर्बभन्दा बढीको कारोबार भइरहेको छ । उनका अनुसार बजार उकालो यात्रामा लागेपछि सबैजसो खेलाडी सक्रिय बन्छन् र आफ्नो पैसा लगाउँछन् ।

तर बढ्दो बजारमा केही कम्पनीको शेयर मूल्यमा आएको अस्वभाविक मूल्यवृद्धिले जोखिम बढाएको गिरीको भनाइ छ । यसबाट नयाँ लगानीकर्ता फस्ने जोखिम बढेको भन्दै उनले नियामकीय निकायले आफ्नो भूमिका निर्वाह गर्न नसकेको आरोप लगाए । ‘धितोपत्र बोर्ड र नेप्से जस्ता संस्थाले बजारमा नियामकीय भूमिका खेल्नुपर्ने हो,’ गिरीले भने, ‘तर उनीहरुको उपस्थिती शून्य हुँदा निम्न वित्तीय क्षमता भएका कम्पनी समेत निरन्तर बढिरहेका छन् । जसले नयाँ लगानीकर्ता फस्ने जोखिम हुन्छ ।’

यस्तै, शेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष तारा प्रसाद फुलेल शेयर बजारमा सर्वसाधारणको लगानी आउन थालेको बताउँछन् । दैनिक २० अर्बभन्दा माथिको लगानी आउन चानचुने विषय नभएको उनको भनाई छ । ‘अहिले २० अर्बभन्दा बढीको कारोबार भइरहेको शेयर बजारमा अबको केही दिन वा हप्तापछि नै दैनिक ४० वा ५० अर्बसम्मको कारोबार हुन सक्ने सम्भाना छ,’ फुलेलले भने ।

शेयर बजारमा आइरहेको कारोबार रकमले समेत ‘बुल मार्केट’लाई सहयोग गर्ने उनको विश्लेषण छ । यस्तै, नेपाल राष्ट्र बैंकले संस्थागत लगानीकर्ताको २० करोडको शेयर धितो सिमा हटाइदिएको छ । यसले संस्थागत लगानीकर्ताले बैंकबाट ऋण लिएर बजारमा लगाउँदा समेत बजार बढ्न थालेको हो ।

यसबाहेक डिम्याट खाता खोल्ने सर्वसाधारणको संख्या ६५ लाख पुगेको छ । ‘बुल’ सुरु भएपछि यी लगानीकर्तामध्ये केही प्रतिशतले आफ्नो रकम हाल्दा समेत बजारको कारोबार बढ्न थालेको हो । बजार उकालो लागेपछि मात्रै ६५ हजार नयाँ डिम्याट खाता खुलेको एउटा तथ्यांकले देखाएको छ । यो डिम्याट खातावालाहरुले शेयर बजारमा लगानी खन्याएको हुन सक्ने गिरी बताउँछन् ।

कुन दिन कतिको कारोबार ?
साउन १ – ९ अर्ब १३ करोड
साउन २ – १२ अर्ब ५ करोड
साउन ३ – १५ अर्ब ५४ करोड
साउन ६ – १५ अर्ब २३ करोड
साउन ७ – १३ अर्ब ९१ करोड
साउन ८ – १४ अर्ब ११ करोड
साउन ९ –१६ अर्ब २० करोड
साउन १० – १४ अर्ब १३ करोड
साउन १३ – १५ अर्ब ८१ करोड
साउन १४ – १९ अर्ब ६० करोड
साउन १५ – १७ अर्ब २६ करोड
साउन १६ – २१ अर्ब ९१ करोड
साउन १७ – २१ अर्ब ८६ करोड
साउन २१ – २१ अर्ब ८६ करोड
साउन २२ – २३ अर्ब ७१ करोड
साउन २३ – १७ अर्ब ९५ करोड
साउन २४ – २० अर्ब ७ करोड
साउन २७ – २५ अर्ब ७७ करोड
साउन २८ – २७ अर्ब २४ करोड
साउन २९ – २१ अर्ब ५१ करोड