कर्मचारी छनौटमा ध्यान नपुर्याउँदा प्रतिष्ठा गुमाउँदै बैंक

कर्मचारी छनौटमा ध्यान नपुर्याउँदा प्रतिष्ठा गुमाउँदै बैंक


काठमाडौं – सर्वसाधारणको रकम जम्मा गर्ने बैंकहरुले कर्मचारी छनौटमा ध्यान पुर्याउन नसक्दा सार्वजनिक रुपमा नै समस्यामा पर्ने प्रचलन बढ्न थालेको छ । कर्मचारी छनौटलाई गम्भिर रुपमा नलिँदा विभिन्न शाखामा आइपर्ने समस्याका कारण बैंकहरुको बदनाम नै हुने गरेको छ ।

हालसालै झापाको विर्तामोड शाखामा भएको प्रभु बैंकको घटनाले यस्तै इंकित गर्छ । यो घटनाले प्रभु बैंकलाई मात्रै नभएर सिंगो बैंकिङ्ग क्षेत्रलाई तरंगित बनाएको छ । खासगरी सो शाखामा काम गर्ने कर्मचारीले एक खातावालाको १ करोड १९ लाख रुपैयाँ हिनामिना गरेको घटना बाहिरिएपछि सिंगो बैंकिङ्ग क्षेत्र तरंगित बनेको हो ।

यसले ठगी गर्ने मानसिकता भएका बैंकका कर्मचारीले सेवाग्राहीको रकम हिनामिना गर्न सक्छन् भन्ने फेरी एकपटक देखाएको छ । पीडित भनिएका मञ्जु नेपालले लगाएको आरोपअनुसार शाखाका कर्मचारी प्रमोद सिटौलाले करोडौं रकम हिनामिना गरेका हुन् । आरोपलाई थप मलजल गर्ने काम भने कर्मचारी सम्पर्कविहीन बन्दा हुन्छ ।

आरोपित कर्मचारी सिटौलाले यही साउन १६ गतेदेखि सम्पर्कबाहिर रहेको बताइएको छ । यो एउटा प्रतिनिधि घटना मात्रै हो । बैंकले आफ्नो मानवीय संशाधनमा ध्यान नपुर्याउँदा र समयक्रमसँगै नियमन फितलो बनाउँदा यस्ता समस्या दोहोरिरहन्छन् । यस्तै, २०७६ सालमा राष्ट्रिय वाणिज्य बैंकको खाताबाट २० हजार रुपैयाँ गायव भएको थियो ।

यसबाहेक समय–समयमा अन्य विभिन्न बैंकहरुमा जम्मा गरेको खातावालको रकम हराउने गरेको घटना सर्वविविदै छन् । यसको मूख्य कारण भनेको दक्ष जनशक्ति नहुनु र भएका जनशक्ती आफ्नो पेसाप्रति गम्भिर नहुनु हो । पूर्व बैंकर देवेन्द्र प्रताप शाह बैंकहरुमा कहिलेकाँही हुने यसप्रकारका घटना सामान्य भएको बताउँछन् । ‘केही नराम्रा घटना सबैतिर हुन्छन्,’ शाहले भने, ‘यसलाई कर्मचारी नै छनौट गर्न नजानेको भन्न मिल्दैन ।’ यद्यपी बैंकहरु यसप्रति चनाखो बन्नुपर्ने शाहको भनाइ छ । ‘बैंकबाट धमाधम खातावालको रकम हराउन थाल्यो भने बैंकप्रतिको विश्वास नै रहँदैन,’ शाह थप्छन्, ‘घटनाको प्रकृतिलाई हेरेर आवश्यकता बमोजिम कारबाही पनि गर्नुपर्छ ।’

कर्मचारीलाई आवश्यकताअनुसार तालिम र प्रशिक्षण समेत दिनुपर्ने हुन्छ । यसोगर्दा कर्मचारीको क्षमता अभिवृद्धि हुनुका साथै प्रभावकारी ढंगले काम अघि बढाउन मद्धत पुग्छ । क्षमतावान् र नैतिक कर्मचारी हुँदा बैंकहरु सम्भावित नोक्सानीबाट समेत बच्न सक्छन् ।

कर्मचारी छनौटमा छैन स्पष्ट नीति
बैंकहरुको नियामकीय भूमिकामा रहेको नेपाल राष्ट्र बैंकले बैंकहरुलाई चाहिने मावनीय संशाधन छनौटको अधिकार दिएको छ। बैंकहरुले आफूलाई चाहिने कर्मचारी आफू अनुकूल छान्न पाउने व्यवस्था गरेको छ । तर, यसो गर्दा राष्ट्र बैंकले नै बैंकहरुलाई करोडौं जरिवाना तिराउँदै आइरहेको छ । नियामकीय भूमिकामा नबस्दा, सर्वसाधारणको निक्षेपमा हानि नोक्सानीको जोखिम बढ्दा र लगानीकर्तालाई हानि पुग्ने गरी सूचना नदिँदा बैंकहरु आर्थिक जरिवानामा परेको थुप्रै घटना छन् ।

यी विषयालाई नजरअन्दाज गर्दै केन्द्रीय बैंकले कर्मचारी भर्ना बारे एउटा नीति बनाउनुपर्ने हो । तर, कर्मचारी छनौटका लागि सम्बन्धीत बैंकहरुले नै नीति बनाउनुपर्ने गरी केन्द्रीय बैंकले आदेश दिएको छ । केन्द्रीय बैंकका सूचना अधिकारी डा. डिल्लीराम पोखरेल बैंकहरुले आफ्नो नियमभित्र बसेर कर्मचारी नियुक्त गर्न पाउने व्यवस्था रहेको बताउँछन् ।

‘कर्मचारी कुन विभागमा राख्ने भन्ने निर्णय बैंक व्यवस्थापकले गर्ने हो,’ पोखरेलले थपे, ‘बैंकका कर्मचारीबाट हुने विभिन्न किसिमका घोटला र वित्तीय जोखिमका विषयमा बैंक व्यवस्थापक नै चनाखो बन्नुपर्छ ।’ बैंकहरु कर्मचारी छनौटमा कमजोर रहेको घटना केही समयअघि हेटौंडामा घटेको घटनालाई पनि लिन सकिन्छ ।

प्रवाह भएको कर्जाको विषयमा माथिल्लो तहबाट अत्याधिक दबाब आएपछि तत्कालीन मेगा बैंकका हेटौँडा शाखाका प्रमुख निराजन देवकोटाले त्रिशूली हामफालेर आत्महत्या गरेका थिए । देवकोटाले शाखा प्रमुख हुँदा ‘घुस लिएर कर्जा प्रवाह गरेको’ शंकामा बैंक व्यवस्थापनले अनुसन्धान गर्नुका साथै तीव्र दबाब दिएको थियो । तर माथिल्लो तहबाट खेप्नै नसक्नेगरी दबाब आएपछि त्रिशुलीमा आत्महत्या गरेका थिए ।

यसबाट बैंकको माथिल्लो तह र उनी शाखा प्रमुख समेत उत्कृष्ट छनौट थिएनन् कि भन्ने प्रश्न उब्जाएको थियो । बैंकबाट प्रवाह भएको ऋणको विषयमा अनावश्यक दबाब आएको ती शाखा प्रमुखको भनाइ थियो । जसकारण बैंकलाई र आत्महत्या गर्ने ती कर्मचारी परिवारलाई नै क्षती भयो ।

साथै, बैंकहरुले सही व्यक्तीलाई कर्मचारीका रुपमा नियुक्त गरेर जिम्मेवारी दिनुपर्छ भन्ने घटना अर्को एउटा घटनाले पनि देखाउँछ । माछापुच्छ्रे बैंकको रुपन्देही शाखाका कर्मचारीले दर्जनौं बचतकर्ताको रकम अपचलन गरेको घटना बाहिरिएको थियो । अनुसन्धानका क्रममा उनले नक्कली बैंक भौचर दिएर बचतकर्ताको लाखौं रुपैयाँ अपचलन गरेको पाइएको थियो । रमेश चौहान नाम गरेका ती कर्मचारीले ४५ जना बचतकर्ताबाट उठाएको रकम बैंकमा इन्ट्री नै नगरी आफैँले राखेका थिए । यस्ता घटनाले सर्वसाधारणमा बैंकको बदनाम हुनुका साथै विवादमा आउन नचाहने कम्पनीको प्रतिष्ठामा समेत आँच आउने गरेको छ।