नेप्से परिसूचक ७० अंकले बढ्दा कारोबार रकमको किर्तिमान फेरी तोडियो

नेप्से परिसूचक ७० अंकले बढ्दा कारोबार रकमको किर्तिमान फेरी तोडियो


काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ७०.८१ अंकको वृद्धि आएको छ । निरन्तर उकालो लागिरहेको शेयर बजारको ‘बुलिस’ यात्रा कायमै रहँदा परिसूचक २९ सय ३१ अंकमा पुगेको छ । आजको वृद्धि नेप्सेमा आएको २.४७ प्रतिशतको वृद्धि हो ।

परिसूचक ३ वर्षभन्दा लामो समयपछि २९ सय अंकभन्दा माथि जाँदा कारोबार रकममा भने अर्को किर्तिमान बनेको छ । हिजो आइतबार २५ अर्ब ७७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको शेयर बजारमा आज २७ अर्ब २४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यो अहिलेसम्मकै उच्च कारोबार रकम हो ।

यसक्रममा आज ६ करोड ४८ लाख कित्ताभन्दा बढी शेयर किनबेच भएको छ । आज १७१ वटा कम्पनीको शेयर मूल्य बढ्दा ६८ वटा कम्पनीको मूल्य घटेको छ भने ३ वटाको स्थिर कायम छ । आज ७ वटा कम्पनीको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ भने १२ कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

आज सबैभन्दा धेरै गुमाउने कम्पनीको सूचीका कुथेरी बुखारी स्मल हाइड्रोपावर कम्पनी छ । यो कम्पनीको शेयर मूल्य आज १० प्रतिशत घटेको छ । हिजो आइतबार पनि १० प्रतिशतले नै घटेको थियो । यसक्रममा हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा धेरै शेयर किनबेच भएको छ । यो कम्पनीको १ अर्ब २२ करोडको शेयर कारोबार हुँदा शिवम् सिमेन्टको ९२ करोडको किनबेच भयो ।

बजारमा ७० अंकको वृद्धि आउँदा लगानी समूह र उत्पादनमूलक समूहमा भने गिरावट आएको छ । उत्पादनमूलक समूह ९९ अंकले र लगानी समूह ०.२२ अंकले घट्दा अरु सबैजसो समूह बढेका छन् । जीवन बीमा समूह ८१५ अंकले बढ्दा निर्जीवन बीमा कम्पनी समूह ४१२ अंकले बढेको छ ।

यस्तै होटल र टुरिजम समूह २२० अंकले र व्यापार समूह १६३ अंकले बढेको छ । यसबाहेक अन्य सबैजसो समूहमा समेत सुधार आएको छ । नयाँ सरकार गठन भएयता निरन्तर बढिरहेको शेयर बजार ‘बुलिस ट्रेन्ड’ रहेको छ । बजार बढ्न थालेसँगै दिनदिनै कारोबार रकमको किर्तिमान ब्रेक भइरहेको छ ।