चैत महिनामा करिव ५० प्रतिशत रेमिट्यान्स घट्यो

चैत महिनामा करिव ५० प्रतिशत रेमिट्यान्स घट्यो


बैकिङ्ग समाचार । 

देशको अर्थतन्त्रमा सबैभन्दा धेरै हिस्सा ओगटेको रेमिट्यान्स लकडाउनको अवधिमा ५० प्रतिशतले कमि आएको छ । यो रिपोर्टले अर्थतन्त्रमा नराम्रो धक्का पर्ने संकेत देखाएको छ । नेपाली श्रमजीवि वर्गहरु कार्यरत विदेशका धेरै व्यापार व्यबसाय बन्द हुँदा यो अबस्था निम्तिएको छ । चैत महिनाको रिपोर्टलाई हेर्दा बैशाख पछिका महिनाहरुमा यो स्थिति अझ बढ्ने अनुमान छ । चैत पहिलोसातासम्म विदेश र नेपालको वजार खुल्ला अबस्थामा रहेको थियो । चैत पहिलोसाताबाट अधिकाँस देशहरुमा लकडाउन घोषणा गरियो । फलस्वरुप विदेशमा रहेका नेपालीहरु बेरोजगार हुनुपरेको, काममा जान नपाएको तथा विदेश जान ठिक्क परेकाहरु जान नपाएका मुख्य कारणहरु हुन् ।

लकडाउन अवधि सकिएपछि कतिपय विदेशमा रहेका नेपालीहरु स्वदेश फर्कने अनुमान गरिएको छ । जसले रेमिट्यान्स क्षेत्रमा थप धक्का लाग्ने देखिएको छ । चालू आर्थिक वर्षमा नेपाल भित्रने रेमिट्यान्स अघिल्लो वर्षको तुलनामा २० प्रतिशतले घट्ने नेपाल राष्ट्र बैंकले अनुमान गरेको छ । यसअघि केन्द्रीय तथ्यांक विभागले रेमिट्यान्स साढे १८ प्रतिशतले र विश्व बैंकले १४ प्रतिशतले घट्ने प्रक्षेपण गरेका थिए । तर प्रक्षेपणहरु लकडाउनको समयअवधि लम्बिएसँगै परिबर्तन हुँदै जाने देखिएका छन् । गत पुस महिनामा चाइनाबाट सुरु भएको कारोना भाइरसको महामारी विश्वभर फैलिएको छ । जसले गर्दा विश्व अथृतन्त्र नै नराम्रो भूमरिमा परेका छ । फागुन महिनाको तुलनामा चैतमा रेमिट्यान्स आप्रवाह करिब ५० प्रतिशतले घटेको प्रक्षेपण गरिएको छ । 

फागुन महिनामा ७९ अर्ब २० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ । चैतमा ३९ अर्ब ६० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ । बैशाख २३ गते संसदको अर्थसमितिमा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हाल विश्वभर करीब ५० लाख नेपाली वैदेशिक रोजगारीमा रहेको र चैत महिनामा फागुनको तुलतामा ५० प्रतिशत रेमिट्यान्स घटेको विवरण प्रस्तुत गरे । 

उनले चालू आर्थिक वर्षमा नेपाल भित्रने रेमिट्यान्स अघिल्लो वर्षको तुलनामा २० प्रतिशतले घट्ने प्रक्षेपण सुनाए । चालु आर्थिक बर्ष सकिन करिव ७० दिन बाँकी छ । असार मसान्तमा चालु आर्थिक बर्ष सकिन्छ । साउन १ गतेबाट नयाँ आर्थिक बर्ष सुरु हुने छ ।

गत वर्ष ८ खर्ब ७९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । आगामी दिनमा भारतबाट आउने रेमिट्यान्स र अप्रत्यक्ष रकम पनि घट्ने देखिन्छ ।