काठमाडौं – यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा तीव्र उत्तराचढाव देखिएको छ । ४ दिन मात्रै कारोबार भएको यो साता ३ दिन बढेर १ दिन परिसूचक घटेको थियो । जसमा तीव्र उत्तराचढाव देखिएको हो ।
गत साताको अन्तिम कारोबार दिन २७ सय ५५ अंकमा रोकिएको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिनसम्म आइपुग्दा २७ सय ६६ अंकमा पुग्यो । यो जम्मा ११ अंकको वृद्धि हो ।
आइतबार भोटो जात्रा परेकाले कारोबार भएन । सोमबार ४० अंकले बढेको बजारमा मंगलबार १४५ अंकको गिरावट देखियो । तर बजार लगत्तै फर्कियो र बुधबार १०८ अंकले बढ्यो । यस्तै अन्तिम कारोबार दिन नेप्से परिसूचक ६ अंकले बढेर बन्द भयो ।
यो साता पनि नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिमा गरिएको शेयर बजार मैत्री परिवर्तनको सकरात्मक प्रभाव बजारमा देखियो । यो साता नेप्सेमा तीव्र उत्तराचढाव देखिनुको पछाडी प्रतिनिधिसभाको बैठकमा सांसदहरुले शेयर बजारमाथि दिएको प्रतिक्रियालाई दोष लगाइएको छ ।
सोमबार प्रतिनिधि सभाको बैठकमा तीन जना सांसदले शेयरबजारको तीव्र वृद्धि र केही कम्पनीको शेयर मूल्यमा भइरहेको चलखेलका विषयमा बोलेका थिए । सांसदत्रय डा. प्रकाशसरण महत, डा. अमरेशकुमार सिंह र राजन दाहालले केही कम्पनीको शेयर मूल्यमा भएको अस्वभाविक मूल्य वृद्धिका विषयमा बोलेका थिए ।
उनीहरुले वित्तीय सूचक नकरात्मक भएका कम्पनीहरुको मूल्य अस्वभाविकरुपमा बढेको बताएका थिए । त्यसको भोलीपल्ट अहिलेसम्मकै ऐतिहाँसिक अंकका साथ बजार घटेको थियो । तर त्यसको अर्को दिन नै नेप्सेमा उच्च अंकको वृद्धि आयो । फलस्वरुप साताको ४ कारोबार दिनमा नेप्से परिसूचक ११ अंकले बढ्यो ।
ऐतिहाँसिक कारोबार
यो साता शेयर बजारमा अहिलेसम्मकै किर्तिमानी कारोबार भयो । मंगलबार १४५ अंकले घटेको बजारमा अहिलेसम्मकै किर्तिमानी शेयर किनबेच भएको हो । मंगलबार २३ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भयो ।
यस्तै सोमबार २१ अर्ब ६९ करोड रुपैयाँको शेयर किनबेच भएको थियो भने बुधबार १७ अर्ब ६९ करोड रुपैयाँको किनेबच भएको थियो । यसैगरी अन्तिम कारोबार दिन विहीबारमा १९ करोड ८१ लाख रुपैयाँको शेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।
समग्रमा यो साता ८२ अर्ब ६९ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो ।
प्रतिक्रिया