साताको सुन कारोबार : ६ दिनमा १६ सयले घट्यो

साताको सुन कारोबार : ६ दिनमा १६ सयले घट्यो


काठमाडौं – साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको थियो । यो साता आइतबार, मंगलबार, बुधबार सुनको मूल्यमा क्रमशः गिरावट आयो भने सोमबार, बिहीबार र शुक्रबार बढ्यो । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई सय रूपैयाँले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार त्यसदिन छापावाल सुन प्रतितोला एक लाख ४९ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार सात २५ सय रूपैयाँमा कारोबार भएको थियो । सोमबार तोलामा ३०० रूपैयाँले बढ्दै एक लाख ५० हजार रूपैयाँ पुगेको थियो । जुन ऐतिहासिक मूल्य थियो ।

अघिल्लो दिन प्रतितोला तीन सय रूपैयाँ बढेर ऐतिहासिक विन्दुमा पुगेको सुनको मूल्य मंगलबार दुई हजार तीन सय रूपैयाँ घट्दै एक लाख ४७ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो ।

मंगलबार प्रतितोला दुई हजार तीन सय रूपैयाँ घटेको सुनको मूल्य बुधबार प्रतितोला एक हजार चार सय रूपैयाँले घट्दै प्रतितोला एक लाख ४६ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो । बुधबार घटेको सुनको मूल्य बिहीबार प्रतितोला तीन सय रूपैयाँले बढ्दै एक लाख ४६ हजार छ सय रूपैयाँमा काराेबार भएकाे थियो । साताको अन्तिम दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मूल्य एक हजार पाँच सय रुपैयाँले बढेर एक लाख ४८ हजार एक सय रूपैयाँ पुगेको थियो ।

सरकारले चालू आर्थिक वर्षका लागि भन्सारदर वृद्धि गरेपछि सुनको भन्सार महशूल बढाएर २० प्रतिशत पुर्याएसँगै व्यवसायीहरू आक्रोशित बनेका थिए । छिमेकी मूलुक भारतले सुनको भन्सार महशूल ५ प्रतिशत आसपासमा झारेको छ । यसकारण नेपालकली बजारको तुलनामा भारतीय बजारमा सुनको मूल्य सस्तो छ ।

सोहीकारण सिमा नाका आसपास बस्ने सर्वसाधारणले भारतीय बजारबाट सुन किन्न थालिसकेका छन् । जसबाट नेपालको राजश्व घट्न सक्ने विज्ञहरूकाे बुझाई छ । भारतीय बजारमा नेपाली आकर्षित बन्दै गएपछि व्यवसायी समेत अत्तालिएका छन् ।

यसैबीच सोमबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सुनचाँदीको भन्सार दर घटाउन सरकार तयार रेहको बताएका थिए। सोमबार सुनचाँदी व्यवसायीसँगको भेटघाटका क्रममा अर्थमन्त्री पौडेलले बजेटबाट बढेको सुनचाँदीको भन्सारदर घटाउन सकरात्मक रहेको बताएका हुन् ।

समग्रमा भन्दा याे साता ६ दिन सुन काराेबार हुँदा सुनकाे मूल्यमा १६ सयकाे गिरावट आएकाे छ ।