काठमाडौं – आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १०८.३५ अंकले बढेको छ । कारोबार सुरु भएदेखि नै बढ्न सुरु गरेको शेयर बजार अन्तिमसम्ममा ४.०८ प्रतिशतले बढेको हो ।
हिजो मंगलबार १४५ अंकले बजार घटेको थियो । ५.१८ प्रतिशतले घट्दै हिजो परिसूचक २६ सय ५१ अंकमा आएर रोकिएको थियो । तर आज फराकिलो अंकले बढ्दै परिसूचक २७ सय ५९ अंकमा पुगेर रोकिएको हो ।
आज शेयर बजारमा १७ अर्ब ९५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यसक्रममा आज ३ करोड ८० लाख कित्ता बराबरको शेयर किनबेच भएको छ । हिजो शेयर बजारमा २३ अर्ब ७१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।
हिजो मंगलबारको तुलनामा आज बुधबार ५ अर्ब ७६ करोड रुपैयाँले कारोबार घटेको हो । यसक्रममा आज २३९ वटा कम्पनीको शेयर मूल्य बढेको छ । यस्तै ३ कम्पनीको मूल्य घटेको छ ।
आज ९ वटा कम्पनीको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । यस्तै थप ९ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । आज हिमालयन रि इन्स्योरेन्सको शेयर सबैभन्दा बढी कारोबार भएको छ । यो कम्पनीको १ अर्ब ५३ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो ।
बजारमा उत्साह फर्किएको दिन कारोबारमा आएका सबै १३ वटै समूहको सूचक बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको सूचक ५१० अंकले बढेको छ । यस्तै निर्जीवन बीमा कम्पनी समूहको सूचक ४०० अंकले बढेको छ ।
प्रतिनिधि सभामा ३ जना सांसदले शेयर बजारबारे प्रतिक्रिया दिएपछि हिजो मंगलबार बजार घटेको लगानीकर्ताले बताएका थिए। पूर्व अर्थमन्त्री डा. प्रकाशसरण महत, अमरेशकुमार सिंह र राजन दाहाललगायतले शेयर बजारमाथि प्रतिक्रिया दिएपछि बजार घटेको लगानीकर्ता संघहरुले आरोप लगाएका छन् ।
तर, सांसदको बाहानामा ठूला लगानीकर्ताले बजार घटाउँदै सस्तोमा लगानीकर्ताको शेयर उठाउने दाउ लिएको देखिन्छ । यही रणनीतिअनुरुप मंगलबार बजारमा उच्च अंकको गिरावट आएको थियो । यसबाहेक शेयर बजार विगत केही समययता निरन्तररुपमा बढ्दै आएको थियो । जसमा ठूलो ‘करेक्सन’ समेत आवश्यक थियो ।
प्रतिक्रिया