शेयर बजारमा अहिलेसम्मकै उच्च अंकको गिरावट, कीर्तिमानी कारोबार

शेयर बजारमा अहिलेसम्मकै उच्च अंकको गिरावट, कीर्तिमानी कारोबार


काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा अंकका आधारमा ऐतिहासिक गिरावट आएको छ । आज मंगलबार कारोबार खुलेदेखि नै घट्न थालेको नेप्सेमा १४५ अंकको ऐतिहासिक गिरावट आएको हो ।

यसअघि नेप्सेमा २०७८ भदौ २० गते सबैभन्दा उच्च अंकको गिरावट आएको थियो । सो दिन नेप्से परिसूचक १०८ अंकले घटेको थियो । त्यसपछि आज मंगलबार नेप्से परिसूचक किर्तिमानी अंकले घटेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रवक्ता मुराहरी पराजुलीका अनुसार आजको गिरावट अंकका आधारमा सबैभन्दा उच्च हो । उनले बैकिङ्ग समाचारसँग भने, ‘यसअघि यो अंकमा शेयर बजार घटेको थिएन। यसअघिको उच्च गिरावट १०८ अंक हो ।’

१४५ अंकले घटेसँगै परिसूचक २६५१ अंकमा आइपुगेको छ । यस्तै, आज नेप्सेमा किर्तिमानी कारोबार भएको छ । आज २३ अर्ब ७१ करोड ६७ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ । यसअघिको उच्च कारोबार रकम २१ र्अ ९१ करोड थियो ।

५.१८ प्रतिशत घट्दा पनि किन रोकिएन बजार ?

सामान्यतया शेयर बजार परिसूचक ४ प्रतिशत घट्न साथ कारोबार निश्चित समयका लागि रोकिन्छ । तर, आज ५.१८ प्रतिशत घट्दा पनि शेयर बजारको कारोबार रोकिएन । यसको मूख्य कारण भनेका परिसूचक अन्तिम समयमा ५.१८ प्रतिशते घट्नु हो ।

कारोबार सुरु भएको पहिलो घन्टामा बजार ४ प्रतिशतले तलमाथि भएमा कारोबार रोकिन्छ । यस्तै, दोस्रो घन्टामा ५ प्रतिशतले बजार तलमाथि भएमा निश्चित समयका लागि कारोबार रोकिन्छ । त्यसपछि कारोबार रोकिनका लागि बजार ६ प्रतिशतले घट्नुपर्छ । यही कारण अन्तिम समयमा बजार परिसूचक ५.१८ प्रतिशतले मात्रै घट्दा कारोबार नरोकिएको हो ।

बैकिङ्ग समूहमा ९२ अंकको गिरावट

आज १३ वटै समूहमा गिरावट आएको छ । परिसूचक उच्च अंकले घट्दा कुनै पनि समूहको सूचकमा सकरात्मक वृद्धि देखिएन। यसक्रममा आज जीवन बीमा समूहमा ८७० अंकको गिरावट आएको छ । यस्तै निर्जीवन बीमा समूह ६८६ अंकले घट्दा होटल तथा पर्यटन समूह ६२४ अंकले घटेको छ ।

यसैगरी उत्पादनमूलक समूह ३६९ अंकले घट्दा विकास बैंक समूह २९३ अंकले घटेको छ । व्यापार समूह २२६ अंक, लघुवित्त २०५ अंक र जलविद्युत समूह १६२ अंकले खुम्चिएका छन् । यस्तै, आज बैंक समूहमा समेत ९२ अंकको गिरावट आएको छ ।

यो समूहमा गिरावट आउनुको मूख्य कारण सोमबार प्रकाशित अपरिकृष्ट वित्तीय विवरण हो। २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा १० वटाको नाफा घटेको छ । ४ वटा बैंक लगानीकर्तालाई लाभांश वितरण नै गर्न नसक्ने स्थितिमा पुगेका छन् । लाभांश वितरण गर्न सक्ने स्थितिमा रहेका बैंकहरुले समेत उल्लेख्य मात्रामा वितरण गर्न सक्दैनन्। यही कारण बैंक समूहमा ९२ अंकको गिरावट आउँदै १४५५ अंकमा आइपुगेको छ। यो ५.९६ प्रतिशतको गिरावट हो ।