बंगलादेशकी प्रधानमन्त्री हसिनाले दिइन् पदबाट राजीनामा, हेलिकप्टरमार्फत भारत प्रस्थान

बंगलादेशकी प्रधानमन्त्री हसिनाले दिइन् पदबाट राजीनामा, हेलिकप्टरमार्फत भारत प्रस्थान


एजेन्सी – बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजिनामा दिएको संयुक्त अरब इमिरेट्सको समाचार संस्था ‘खालीज टाइम्स’ले उल्लेख गरेको छ । समाचार संस्थाका अनुसार विभिन्न स्रोतहरुले बंगलादेशकी प्रधानमन्त्री हसिनाले आज सोमबार आफ्नो पदबाट राजिनामा दिएको जानकारी दिएको छ ।

भारतको उच्चस्तरीय निकाय र देल्लीस्थिती समाचार संस्था आउटलेटमा प्रकाशित समाचारलाई स्रोत मानेको खालीज टाइमले हसिना हेलिकप्टरमार्फत भारततर्फ उडेको समेत लेखेको छ । बंगलादेशमा पछिल्लो समय हजारौं सर्वसाधारणले प्रधानमन्त्री हसिनाको राजिनामा माग्दै प्रर्दशन गर्दै आइरहेका छन् ।

यस्तै सहिदका लागि छुट्याउने भनिएको कोटा प्रणालीको विरोध गर्दै हप्तौंसम्म विश्वविद्यालयका विद्यार्थीले समेत आन्दोलन गरेका थिए । आफ्नो निवासअघि हजारौं आन्दोलनकारीले आन्दोलन गरेपछि हसिना भारत प्रस्थान गरेको खालीज टाइमले जनाएको छ ।

बंगलादेशी समाचार संस्था च्यानल २४ ले ठूलो भिड र आन्दोलनकारी प्रधानमन्त्रीको सरकारी निवासतर्फ दौडिरहेको फोटो र भिडियो प्रकाशित गरेको छ । यस्तै बंगलादेश टीभीले आन्दोलनकारी भिड प्रधानमन्त्रीको सरकारी निवासअघि देखाइरहेको छ ।

यस्तै भिडले सिसाका झ्याल ढोका तोडिरहेको र फर्निचर बिगारिरहेको फुटेज टेलिभिजनले प्रसारण गरिरहेको छ । हसिनासँग निकट स्रोतले एएफपीलाई बताएअनुसार उनी आफ्नी बहिनीसँग सुरक्षित स्थानतर्फ प्रस्थान गरेकी छिन् ।