काठमाडौं – आज सोमबार शेयर बजारमा उच्च अंकको वृद्धि आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको प्रभावस्वरुप आज साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४०.७६ अंकको वृद्धि भएको हो ।
केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत संस्थागत लगानीकर्ताको शेयर धितो कर्जामा लगाइएको यसअघिको २० करोड सिमा हटाएको थियो । सो व्यवस्था कार्यन्वयन गर्नका लागि भन्दै राष्ट्र बैंकले गत साताको शुक्रबार सर्कुलर जारी गरेको थियो ।
यसैको प्रभावस्वरुप आज सोमबार नेप्से परिसूचकमा ४० अंकभन्दा बढीको वृद्धि देखियो । यससँगै नेप्से परिसूचक २७ सय ९६ अंकको बिन्दुमा पुगेको छ । आज नेप्सेमा व्यापकरुपमा ‘सेल’ र ‘बाई’ प्रेसर देखियो । जसकारण परिसूचक नागबेली चालमा तलमाथि गरिरह्यो । अन्तिम समयमा मात्रै परिसूचक स्थिर बनेर बढेको थियो ।
आज १ सय ६३ कम्पनी नाफामा जाँदा ७८ कम्पनी घाटामा गएका छन् । आज ३२६ कम्पनीको ४ करोड ९७ लाख ७३ हजार ७३० कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ८६ करोड, ४९ लाख ९२ हजार २ सय ७७ रुपैयाँको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको १ अर्ब २६ करोड रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ४९ करोड ३८ लाख रुपैयाँको र सानिमा माइ हाइड्रोको ४४ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै ८ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज रुरु जलविद्युत कम्पनी, सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट, सगरमाथा जलविद्युत, कुथेली बुखरी हाइड्रो, माथिल्लो मैलुङ खोला, भगवती हाइड्रोपावर, भिजन लुम्बिनी ऊर्जा र मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले गुमाएका छन्। आज यसका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । सोमबार बैंकिङ्ग समूहमा ७.८६ प्रतिशतको गिरावट देखिँदा विकास बैंकमा ८.४६, फाइनान्स १६४ अंकको गिरावट आएको छ। साथै, होटल तथा पर्यटन समूहको ६.६९ प्रतिशत, हाइड्रोपावर समूहको ३.०९ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ३.५२ प्रतिशत, जीवन बीमा समूहको ३.२३ प्रतिशतले शेयर मूल्य बढेको छ ।
प्रतिक्रिया