बढ्यो कामना सेवा विकास बैंकको नाफा, अन्य कुन–कुन सूचकमा देखियो सुधार ?


काठमाडौं – कामना सेवा विकास बैंकको नाफामा उल्लेख्य वृद्धि आएको छ । अघिल्लो आर्थिक वर्ष २०७९–८० को तुलनामा गत आर्थिक वर्ष २०८०–८१ मा बैंकको नाफामा उल्लेख्य वृद्धि आएको हो ।

आर्थिक वर्ष २०७९–८० मा ३६ करोड १३ लाख रुपैयाँ आर्जन गरेको बैंकले गत आर्थिक वर्षमा ६० करोड ३२ लाख रुपैयाँ आर्जन गरेको छ । बैंकद्वारा सार्वजनिक चौथो त्रैमाससम्मको वित्तीय विवरणको प्रतिवेदनअनुसार अघिल्लो वर्षको तुलनामा बैंकको नाफा २४ करोड २३ लाखले वृद्धि भएको छ ।

यसैगरी गत आर्थिक वर्षमा बैंकले ३० करोड ५२ लाख रुपैयाँ कर तिरेको छ । कर तिर्नुअघि कम्पनीको नाफा ९० करोड ८४ लाख रुपैयाँ थियो । बैंकले एक आर्थिक वर्षमा ६० करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्नुमा चौथो त्रैमासमा कमाएको उल्लेख्य नाफाको भूमिका महत्वपूर्ण छ ।

चौथो त्रैमासमा मात्रै बैंकले २७ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जबकी, अघिल्लो आर्थिक वर्ष २०७९–८० को सोही अवधिमा बैंकले जम्मा ५ करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यस्तै सो अवधिमा बैंकले ब्याजमार्फत २ अर्ब १२ करोड रुपैयाँ आर्जन गरेको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अवधिमा बैंकले यो शीर्षकमा २ अर्ब ६ करोड रुपैयाँ आर्जन गरेको थियो । सार्वजनिक भएको तथ्यांकअनुसार चौथो त्रैमासमा बैंकले ब्याजमार्फत ७० करोड २० लाख रुपैयाँ आर्जन गरेको देखिएको छ ।

बैंकको खुद नाफा बढेसँगै प्रतिशेयर आम्दानी समेत बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको प्रतिशेयर आम्दानी ७.३७ रुपैयाँले बढेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको प्रतिशेयर आम्दानी ११.०१ रुपैयाँ थियो । जुन, गत आर्थिक वर्षसम्म आइपुग्दा १८.३८ रुपैयाँ पुगेको छ ।

यस्तै बैंकको पीई रेसियो २२.६३ हुँदा प्रतिशेयर नेटवर्थ १६४.४८ छ । यसैगरी तरलता अनुपात २४.६९ प्रतिशत छ । यता बैंकको खराब कर्जा अनुपात ३.२१ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०७९–८० मा बैंकको खरब कर्जा अनुपात ३.०९ प्रतिशत थियो । बैंकको खराज कर्जा अनुपात भने बढेको देखिएको छ ।

यस्तै यस अवधिमा बैंकको चुक्ता पूँजी ३ अर्ब २८ करोड ११ लाख रुपैयाँ कायम छ भने जगेडा कोषमा २ अर्ब ११ करोड रुपैयाँ छ । यसबाट बैंकको अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा सबैजसो विवरण सुधारिएको देखाउँछ ।

राष्ट्र बैंकले साउनमा उठेको ब्याजलाई पनि गत आर्थिक वर्षको आम्दानीमा जोड्न पाउने व्यवस्था गरेको छ । तर बैंकले भने साउनको ब्याजलाई विवरणमा नजोडेरै उत्कृष्ट नाफा आर्जन गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । ‘हामिले आफ्नो शैलीमा काम गरेका छौं । यसमा केही नयाँ गरेको भन्ने छैन,’ बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली भन्छन् ।

तर बैंकका कर्मचारीहरु भने ऋणको पुराना ‘फाइल सेटलमेन्ट’ गर्दा अघिल्लो आर्थिक वर्ष २०७९–८० को तुलनामा गत आर्थिक वर्ष २०८०–८१ मा नाफा बढेको बताउँछन् । प्रमुख कार्यकारी अधिकृतमा थकालीले गत वर्षको जेठमा जिम्मेवारी सम्हालेका थिए । त्यसयता बैंकले पुराना ऋणको ‘फाइल सेटल’ गर्ने रणनीति अघि बढाउँदा नाफामा वृद्धि आएको विश्लेषण कर्मचारीहरुको छ ।