काठमाडौं – प्रभु बैंकको खातामा राखेको १ करोड १९ लाखभन्दा बढी रकम हिनामिना भएको खुलासा भएको छ । झापाको विर्तामोडमा सञ्चालनमा रहेको प्रभु बैंकको खातामा बचतमा राखिएको सो राशीको रकम हिनामिना भएको खुलासा भएको हो ।
बैंकिङ्ग समाचारलाई प्राप्त सूचनाअनुसार बैंकको सोही शाखामा कार्यरत कर्मचारीले रकम हिनामिना गरेर फरार भएका छन् । शाखाका कर्मचारी प्रमोद सिटौलाले रकम हिनामिना गरेर फरार भएको बैंकिङ्ग समाचारको सम्पर्कमा आएको स्रोतले जनायो ।
विर्तामोडस्थिती मञ्जु नेपालको खातामा रहेको १ करोड १९ लाख रुपैयाँ रकम हिनामिना भएको हो । उनी झापाका पत्रकार टिकाराम नेती नेपालकी श्रीमति हुन् । बैंकिङ्ग समाचारको सम्पर्कमा आएका नेपालका अनुसार शाखाका कर्मचारीका रुपमा कार्यरत सिटौलाले रकम हिनामिना गरेका हुन् ।
बैंक शाखाका ती कर्मचारी सिटौला गत साताको बुधबारदेखि सम्पर्कमा नरहेको समेत नेपालले जानकारी दिए । केहीसमय अघि नेपाल र उनकी श्रीमती आफ्ना छोराहरूलाई भेट्न अमेरिका पुगेका थिए । ‘अमेरिका उड्नुअघि आफ्नो श्रीमतीको खातामा रहेको मौज्दात रकम झिक्न जाँदा सिटौलाले अनेक बाहाना बाजी गरेको थिए,’ नेपालले बैंकिङ्ग समाचारसँग भने ।
भएको के हो ? कसरी भयो हिनामिना ?
नेपालका परिवारले प्रभु बैंकको सो शाखामा जम्मा गरेको कूल एक करोड १९ लाख रुपैयाँमध्ये एक करोड १० लाख रुपैयाँ ‘फिक्स्ड डिपोजिट’ गराईएको थियो । त्यसको केही समयमा नै उनीहरु अमेरिका उडे र अमेरिका उड्नुअघि मुद्धती खातामा नराखिएको रकम झिक्नजाँदा आनाकानी भएको थियो ।
यो दम्पत्ती अमेरिकाबाट फर्केपछि छ महिनाका लागि राखिएको ‘फिक्स्ड डिपोजिट म्याच्योर्ड’ भइसकेको थियो । ‘मुद्धती खातामा राखिएको रकम ‘म्याच्योर्ड’ भएपछि झिक्न जाँदा बैंक खातामा जम्मा २ लाख रुपैयाँ मात्रै रहेको जवाफ बैंकबाट आयो’ नेपालले बैंकिङ्ग समाचारसँग भने ।
यसबारे पत्रकार सम्मेलन नै गरेर नेपालले आफ्नो एक करोडभन्दा बढी रकम हिनामिना भएको बताए । र, यसबारे आफूसँग पर्याप्त प्रमाण भएको र आवश्यक्ताबमोजिम यसबारे खुलासा गर्दै जाने समेत बताए । आफूसँग भएको रकम मुद्धती खातामा राख्ने विषयमा छलफल गर्नका लागि नेपालले प्रमोद सिटौलासँग एउटा क्याफेमा भेट गरेको समेत बताए ।
‘उनी कर्मचारी आफूलाई झुक्याएर फरार भएका छन्,। उहाँ ग्यासट्राइटिसको औषधि किन्ने भन्दै सम्पर्कमा बाहिर जानु भएको छ,’ नेपालले थपे । यसपछि प्रहरीले मुचुल्का उठाएर सिटौलाको झोला खानतलासी गरेको थियो । जसमा विभिन्न व्यक्तिको नामको चेकमा किर्ते हस्ताक्षर गरेर रकम झिक्न खोजिएका दर्जनौं चेक, एटीएम कार्ड, बैंक भौचर फेला परेको बताइएको छ ।
यस्तै अधिवक्ता स्वागत नेपालले कुनैपनि बैंक तथा वित्तीय संस्थाले कर्मचारीको हितविपरित काम गर्दा कारबाही गर्ने व्यवस्था रहेको बताउँछन् । उनले यस्तो अवस्थामा आफ्नो बैंकले नै कारबाही गर्ने व्यवस्था पनि रहेको उनले बताए । उनकाअनुसार यस्ता गतिविधिले बैंकलाई गर्ने विश्वास पनि गुम्दै गएको छ । स्वागतले बैंकका कर्मचारीले नै यस्तो गतिविधि गर्ने हो भने बैंकिङ्ग प्रणलीमा हुँने विश्वास गुम्दै जाने र यस्ता कार्यले समग आर्थिक क्षेत्रमा नै प्रभाव पार्ने उल्लेख गरे । ‘बैंकका ती कर्मचारीले अन्य सेवाग्राहीलाई पनि विभिन्न क्रियाकलाप गरेर बैंकको नीति बाहिर गएर काम गर्ने गरेका छन्,’ नेपालले भने ।
के भन्छ राष्ट्र बैंक ?
नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले झापामा भएको भनिएको १ करोड १९ लाख रुपैयाँको हिनामिनाबारे अनौपचारिकरुपमा जानकारी पाएको बताए । बैकिंङ्ग समाचारसँगको कुराकानीमा पौडेलले भने, ‘यसबारे औपचारिक जानकारी आइसकेको छैन । औपचारिक जानकारी आएपछि यसबारे थप बताउँनपर्ला ।’ यसबारे पिडीत भनिएकाले उजुरी गरेमा निरिक्षण गर्ने र ‘अटोनोमस’माध्यमबाट समेत छानबिन पक्रिया अघि बढाउने व्यवस्था रहेको पौडेलको भनाई छ ।
यस्तो भन्छ प्रभु बैंक
प्रभु बैंकका एक उच्च कर्मचारी झापाको विर्तामोडमा भएको यस प्रकारको घटनाले समग्र बैंकिङ्ग क्षेत्रमाथि नै अविश्वासको वातावरण बन्ने बताउँछ। ‘आरोपित कर्मचारी र पीडित भनिएका सेवाग्राही मिल्ने साथी रहेको पाइएको छ,’ ती कर्मचारीले बैंकिङ्ग समाचारसँग भने, ‘आरोप लगाइरहेका व्यक्तीले आफ्नो खाताको सम्पूर्ण अधिकार ती कर्मचारीलाई दिएका रहेछन् ।’ ती कर्मचारीका अनुसार यो आरोप अब अदालती प्रक्रियामा जाने र प्रभु बैंकका कर्मचारी संलग्नता रहे–नरहेको पुष्टि हुन्छ। अन्यथा कसैले आरोप लगाउँदैमा प्रभु बैंकका कर्मचारीको संलग्नता स्वत पुष्टि हुने भन्ने छैन।






About Us
प्रतिक्रिया