बैंकिङ्ग प्रणालीबाट ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक


काठमाडौं – बजारमा अधिक तरलता थुप्रिएसँगै राष्ट्र बैंकले बुधबार ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ। २१ दिनका लागि निक्षेप संकलन उपकरणको माध्यमबाट राष्ट्र बैंकले तरलता प्रशोचन गर्ने भएको हो।

राष्ट्र बैंकले मध्यान्ह ३ बजे अनलाइन विडिङमार्फत निक्षेप संकलनको बोलकबोल गर्ने जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले ३ बजेभित्र आवेदन दिइसक्नुपर्नेछ।

निक्षेप सङ्कलन बोलकबोलमा भाग दिन चाहने बैंक तथा वित्तीय संस्थाहरूले घटीमा १० करोडदेखि बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि आवेदन दिन सक्नेछन् ।

राष्ट्र बैंकले साउन लागेयता तेस्राे पटक निक्षेप संकलन उपकरण मात्र तरलता प्रशोचन गर्न लागेकाे हाे । यसअघि साउन ९ गते ४० अर्ब र २ गते ५० अर्ब रूपैयाँ प्रशाेचन गरेकाे थियाे ।