असारसम्म पाकेको ब्याज साउनभित्र उठे बैंकहरूले लाभांश बाँड्न सक्ने

असारसम्म पाकेको ब्याज साउनभित्र उठे बैंकहरूले लाभांश बाँड्न सक्ने


काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरूले गत आर्थिक वर्ष २०८०/८१ मा प्रोदभावी आधार (एक्रुुअल बेसिस) मा लेखांकन गरिएको ब्याज २०८१ साउनभित्र प्राप्त भए त्यसबाट लाभांश बाँड्न सक्ने भएका छन् । सोमबार राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागले परिपत्र जारी गर्दै उक्त निर्देशन दिएको हो । १५ साउनसम्म प्राप्त त्यस्तो ब्याजबाट मात्रै लाभांश बाँड्न पाउनेमा यो पटक साउन मसान्तसम्मको समय दिएको हो ।

नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) अनुसार उठ्न बाँकी भए पनि पाकेको ब्याजलाई आम्दानी जनाउनुपर्ने हुन्छ । सोही आधारमा त्यसबाट आयकर भुक्तानी तथा कर्मचारी बोनस समेत वितरण हुन्छ । तर, त्यसलाई लाभांश बाँड्न रोक्दै राष्ट्र बैंकले रेगुलेटरी रिजर्भमा राख्नुपर्ने व्यवस्था गरेको छ । उक्त ब्याज उठेपछि भने त्यसलाई सञ्चित मुनाफामा राइटब्याक गर्दै लाभांश वितरण गर्न सकिन्छ ।

यो पटक गत असारसम्म पाकेको यस्तो ब्याज साउनभित्र उठाए त्यसलाई गत असारको वित्तीय विवरणमा देखाएर गत वर्षको मुनाफाबाट बाँड्न मिल्ने नाफा (सञ्चित मुनाफा) मा लेखांकन गर्न पाउने भएका हुन् । एनएफआरएस लागु नभएका लघुवित्त वित्तीय संस्थाका हकमा २०८०/८१ मा पाकेको ब्याज २०८१ साउन मसान्तभित्र प्राप्त भए त्यसलाई त्यस्ता लघुवित्त वित्तीय संस्थाले २०८०/८१ को नाफा नोक्सान हिसाबमा आम्दानी जनाउन पाउनेछन् ।