बैंकिङ्ग समूहलाई फापेकाे मौद्रिक नीति, कुन बैंकले कति कमाए ?


काठमाडौं –  गत शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको बजारमा सकारात्मक प्रभाव देखिएको छ । फलस्वरुप मौद्रिक नीति प्रश्चातकाे बजारमा दुइ पटकसम्म सकारात्मक सर्किट ब्रेक लाग्याे। पहिलो पटक बजार खुलेको एक मिनेट ३१ सेकेण्डमा नेप्से परिसूचक चार प्रतिशतले बढेसँगै कारोबार २० मिनेटका लागि बन्द भएको थियो। त्यस्तै, दोस्रोपटक कारोबार शुरु भएको एक मिनेटभित्रै परिसूचक एक प्रतिशतले बढेर पाँच प्रतिशत पुगेपछि ४० मिनेटका लागि कारोबार स्थगित भएकाे थियाे।

माैद्रिक नीतिकाे प्रभाव समग्र शेयर बजारमा पर्याे। तर, वाणिज्य बैंककाे समूहमा थप प्रभाव परेकाे देखिन्छ। आज शेयर बजारमा उछाल आँउदा १५ कम्पनीको शेयरमा सर्किट लाग्याे। आज बैंकिङ्ग समूहमा रहेका अधिकांश वाणिज्य बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हाे।

आज एनआईएमबी बैंक, एसबीआई बैंक, सानिमा बैंक, एनएमबी बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, सिटिजन्स बैंक, प्राइम कमर्सियल बैंक, कृषि विकास बैंक, नेपाल बैंक,एभरेष्ट बैंक, लक्ष्मी सनराईज बैंक, कुमारी बैंकको शेयरमा सकारात्मक सर्किट लागेको हाे।

आज स्टान्डर्ड चार्टर्डबाहेक अन्य वाणिज्य बैंकको मूल्य १० प्रतिशत बढ्यो। स्टान्डर्ड चार्टर्डको ८.३ प्रतिशत मूल्य बढ्यो । कारोबार रकमका आधारमा कुमारी बैंक, एनआईसी एशिया बैंक अगाडि रहे । आज कुमारी बैंकको ३६ करोड १० लाख रुपैयाँ, एनआईसी एशिया बैंक ३४ करोड ८१ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंककाे २७ करोड ५८ लाख रुपैयाँ कारोबार भएको छ।

ग्लोबल आइएमई बैंकको २५ करोड ६९ लाख रुपैयाँ, कृषि विकास बैंक २५ करोड ५५ लाख रुपैयाँ, एभरेष्ट बैंक २४ करोड ७० लाख रुपैयाँ कारोबार भएको छ। आज बैंकिङ्ग समूह सबैभन्दा धेरै ९.८९ प्रतिशत बढेकाे छ। विकास बैंक ४.८, फाइनान्स १.२, होटल तथा पर्यटन ०.४६, हाइड्रोपावर ०.८३, लगानी ५.७५, जीवन बीमा ४.२४, उत्पादन १.७२, निर्जीवन बीमा २.६८, अन्य ३.१९ तथा व्यापार २.६२ प्रतिशत बढ्यो ।