काठमाडौं – नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायहरूलाई प्रवाह भएको कर्जाको साँवा ब्याज तिर्ने अवधि थप गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्दे २०८१ मंसिर मसान्तसम्म कर्जाको साँवा ब्याज तिर्ने समय थप गरेको हो । त्यस्तै, निर्माण व्यवसायहरूलाई कर्जा सूचनासम्बन्धी अर्को व्यवस्था नभसम्मको लागि चेक अनादर भएको आधारमा मात्रै कालोसूचीमा समावेश गर्न नपाउने बताएको छ ।
निर्माण व्यवसायमा आएको शिथिलतालाई दृष्टिगत गरी सो क्षेत्रको पुनः स्थापनाको लागि भन्दै केन्द्रीय बैंकले निर्माण व्यवसायको लागि लिइने बैंकिङ्ग सुविधा तथा कर्जाहरूमध्ये वासलात बाहिरको सुविधा उपयोग गर्दा क्रेडिट रेटिङ्ग गर्नुपर्ने व्यवस्थाको सीमा सम्बन्धमा छुट्टै व्यवस्था गर्ने भएको छ ।
त्यस्तै, केन्द्रीय बैंकले निर्माण व्यवसायीहरूको जमानतहरू दावी भई सृजना भएको कर्जामा आर्थिक वर्ष २०८१/८२ का लागि ऋण सृजना भएको मितिबाट अन्य कर्जा सरह कर्जा वर्गीकरण र कर्जा नोक्सानी व्यवस्था कायम गर्ने भएको छ । साथै, केन्द्रीय बैंकले जोइन्ट भेन्चर (जेभी) मा संलग्न कुनै पनि जेभी पार्टनर कालोसूचीमा परेको कारण अन्य जेभी पार्टनरको बैंकिङ्ग काम कारवाहीमा असर नपर्ने व्यवस्था मिलाइने उल्लेख गरेको छ ।
त्यस्तै, नेपाल सरकारबाट निर्माण कार्यको म्याद नवीकरण भएमा बैंक तथा वित्तीय संस्थाबाट प्रदान भएको जमानत समेत नवीकरण हुनसक्ने व्यवस्था मिलाउँने बताएको छ ।



About Us
प्रतिक्रिया