काठमाडौं – गत बुधबार ज्ञान बहादुर मगर (नाम परिवर्तित) लाई पैसाको खाँचो पर्यो। उनले वर्षौदेखि बैंकमा पैसा बचत गर्दै र आवश्यक परेको समयमा झिक्दै आएका छन्। बुधबार पैसाको खाँचो परेसँगै उनी आफ्नो खाता भएको बैंक एनएमबि बैंकको थापाथली शाखा कार्यालय पुगे ।
उनी सो दिन बिहान ९ः४५ बजेको हाराहारीमा बैंक पुगेका थिए। उनी बैंकमा पुग्दा बैंकका कर्मचारी हतारिँदै आफ्नो हाजिरी गर्नतर्फ लाग्दै थिए भने कोही अघिल्लो दिनको विचाराधीन काम सकाउने हतारमा थिए । पछिल्लो समय बैंकहरुले १० बजे अघिदेखि नै विशेष शाखाहरूमा बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेका छन् ।
ज्ञान बहादुरलाई तत्काल पैसाको आवश्यक परेकाले नै उनी बैंक खुल्ने बितिकै कारोबार गर्ने उद्देश्यले बैंक पुगेका थिए। करिब ६० वर्ष उमेर पार गरिसकेका उनी बैंकको रिसेप्सन (सहायता कक्ष) को नजिक रहेको कुर्सिमा बसे । उनी बसेको केही समयमा नै रिसेप्सनमा ३ जना बैंकका कर्मचारी आए । कसैले अघिल्लो दिनको फाइल अर्का कर्मचारीलाई जिम्मा लगाउँदै थिए भने एक महिला कर्मचारी रिसेप्सनमा भएको कम्युटर खोल्दै थिइन्। उनले कम्युटर खोलेसँगै ज्ञान बहादुर भन्दा अघि आएकी एक जना सेवाग्राहीको काम गरिदिइन् ।
ज्ञान बहादुर आफ्नो पालोसँगै बैंकबाट पैसा आउने र व्यवहार मिलाउन तत्काल जानेतर्फ थिए तर त्यसो भएन । रिसेप्सनकी एक महिलाले अघिल्लो सेवाग्राहीको काम सकेसँगै ज्ञान बहादुरलाई प्रश्न गरिन्, तपाइको के थियो होला ? ज्ञान बहादुरले आफ्नो खातामा कति रुपैयाँ छ भन्ने जानकारी नभएको कारण पहिला आफ्नो खातामा भएको पैसाको विवरण बुझ्न चाहेको बताए । ज्ञान बहादुरले एउटा चेक पनि हातमै बोकेर ल्याएका थिए कारण थियो उनलाई आफ्नो खाता नम्बर याद नै छैन । उनले पैसा हेर्दिनुस् न भन्दै चेक बैंकका कर्मचारीलाई थमाए ।
बैंककी ती कर्मचारीले ज्ञान बहादुरलाई खातामा भएको पैसाको विवरण दिइन्। ज्ञान बहादुर आफ्नो खातामा भएको पैसाले आफ्नो व्यवहार टर्छ भन्नेमा मख्ख थिए । त्योसँगै ज्ञान बहादुरले ती कर्मचारीलाई भने, ‘त्यो चेकमा यति हजारको विवरण भरिदिनुस् न मलाई मेसो छैन ।’ तर सो समयमा एक्कासि बैंकको कर्मचारीबाट यस्तो उत्तर पाए जुन उत्तर आउँला भनेर उनले सोचेका थिएनन् । बैंककी ती कर्मचारीले भनिन्, ‘हामीले अहिले चेक चेन्ज गरेका छौँ। अहिलेको नयाँ वाला चेकबाट मात्रै कारोबार गर्न मिल्छ ।’
जे सोचेर बैंक छिरेका थिए सो काम नमिल्ने भएपछि ज्ञान बहादुर निराश हुनुको विकल्प रहेन। बैंककी ती कर्मचारीले सो समयमा ज्ञान बहादुरलाई पुरानो चेक बुक फिर्ता गरेर मात्रै नयाँ चेक लिन मिल्ने पनि बताइन्। तर पनि मिल्छ कि भन्ने सोचेर ज्ञान बहादुरले फेरि ती बैंकका कर्मचारीलाई सोधे, यो पटक यहीँ चेकले मिल्छ अर्कोपटक आउँदा चाहिँ मैले सबै चेक बुक तपाईँहरूलाई फिर्ता गरेर नयाँ लिनुपर्ने है ? ज्ञान बहादुरको सो प्रश्न पछि बैंककी ती कर्मचारीले भनिन्, ‘होइन यो पटक पनि मिल्दैन पहिलाको चेक बुक हामीलाई बुझाउनुस् अनि हामी नयाँ बनाएर तपाईँलाई दिन्छौँ त्यसपछि मात्रै कारोबार गर्न मिल्छ ।’ बैंककी ती कर्मचारीलाई ज्ञान बहादुरले केही भन्न सकेनन् किनकि उनलाई थाहा छ बैंकको माथिल्लो व्यवस्थापनबाट जे आदेश आउँछ सोहीअनुरूप ती कर्मचारीले काम गर्ने गर्दछन्। उनी हवस् हुन्छ भन्दै बैंकको शाखा कार्यालयबाट निस्किए । उनले बैंकको उच्च व्यवस्थापन नै सेवाग्राहीको हित र मनसायमा काम गर्ने नभएको भन्दै आफूजस्तै धेरै ग्राहकहरूले समस्या भोग्नुपरेको आक्रोश पनि व्यक्त गरे ।
यता एनएमबि बैंकले भने सन् २०१९ पछि चेक बुकको बारेमा कुनै पनि अपडेट नभएको दावी गरेको छ। बैंकले सो समयमा आफ्ना ग्राहकहरूलाई एसएमएस मार्फत जानकारी गराएको समेत दावी गरेको छ। बैंकले भने हाल पनि पुरानो चेक लिएर जाँदा सोही समयमा नयाँ चेक दिएर कारोबार गर्ने गरेको भन्दै नयाँ चेक नभएको कारण कुनै पनि कारोबार नरोकेको दावी गरेको छ ।
ज्ञान बहादुर र एनएमबि बैंक त एक उदाहरणका पात्र हुन् । ज्ञान बहादुर जस्ता कयौं सेवाग्राहीहरूलाई एनएमबि जस्ता धेरै बैंकले यस्ता साना–साना कुरामा खासै ध्यान नदिएको पाइन्छ। बैंकहरुले क्लाइन्ट सर्भिसमा मात्रै कयौं लगानी गरेका हुन्छन् तर बैंकहरुले यस्तो सानो-सानो कुरामा ध्यान नदिँदा ग्राहकसँगको सम्बन्ध प्रगाढ बनाउने अवसर पनि गुमाइरहेका हुन्छन्। बैंकिङ्ग क्षेत्रप्रति समय-समयमा विभिन्न आक्रोशहरू सिर्जना हुनुमा यस्ता गतिविधिहरू पनि जिम्मेवार रहेको पाइन्छ। बैंकहरु ग्राहकको सेवाप्रति कत्तिको सम्वेदनशिल छ भन्ने कुरा ठूला –ठूला गफमा भन्दा पनि बैंकको शाखा काउन्टरमा देखिने व्यवहारबाटै पनि झल्किन्छ। त्यसैले बैंकहरुले यस्ता साना–साना कुरामा ध्यान दिएर आफ्नो छविका लागि काम गर्नु उपयुक्त हुन्छ ।
त्यस्तै, नेपाल राष्ट्र बैंकका सूचना अधिकारी डा. डिल्लीराम पोखरेल ग्राहकको हित संरक्षण गर्ने कुरामा सधैँ पहल गर्ने गरेको बताए। उनले राष्ट्र बैंकले पनि बैंकहरुलाई आफूले सुचारु गरेको सेवा र परिवर्तन गरेको सेवाको बारेमा विभिन्न माध्यमहरूबाट सम्पूर्ण जानकारी दिन आग्रह गर्दै आएको बताए।
प्रतिक्रिया