काठमाडौं – कामना सेवा विकास बैंकको गत आर्थिक वर्ष (आव) २०८०/८१ मा खुद नाफा ६३ प्रतिशतले बढेको छ। बैंकले आज सार्वजनिक गरेको गत आवको वार्षिक वित्तीय विवरणमा बैंकको अधिकांश वित्तीय सूचकमा प्रगति भएको देखिएको हो।
बैंकले समीक्षा अवधिमा ६० करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा ३६ करोड १३ लाख रुपैयाँ थियो । यो नाफा अघिल्लो आवको भन्दा ६३ प्रतिशत बढी हो।
यस्तै, समीक्षा अवधिमा बैंकले खुद ब्याज आम्दानी दुई अर्ब १२ करोड ५२ लाख रुपैयाँ आर्जन गरेको छ। जुन आम्दानी अघिल्लो आवको सोही अवधिमा दुई अर्ब ६ करोड ७६ लाख रुपैयाँ थियो ।
गत आवको असार मसान्तसम्म बैंकको नेट फी एन्ड कमिसन आम्दानी २६ करोड ९२ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी दुई अर्ब ४८ करोड ६४ लाख रुपैयाँ र सञ्चालन नाफा ९७ करोड ८४ लाख रुपैयाँ छ भने वितरणयोग्य नाफा ३५ करोड ७८ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ३ अर्ब २८ करोड ११ लाख रुपैयाँ र जगेडा कोषमा एक अर्ब ७५ करोड ७७ लाख रुपैयाँ सञ्चित छ । बैंकको नाफा बढेसँगै प्रतिशेयर आम्दानी बढेर १८.३८ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ११.०१ रुपैयाँ थियो । त्यस्तै, प्रतिशेयर नेटवर्थ १६४.४८ रुपैयाँ, मूल्य आम्दानी अनुपात २२.६३ गुणा छ।
प्रतिक्रिया